काठमाडाैँ । नेपालका व्यावसायिक सिभिल इन्जिनियर तथा आयोजना व्यवस्थापन विज्ञ अमित पोखरेल Engineers Australia Excellence Award 2026 अन्तर्गत Professional Engineer of the Year (Canberra Division) विधामा दोस्रो पटक मनोनयनमा परेका छन् ।
यसअघि सन् २०२५ मा पनि मनोनयनमा परेका पोखरेल पुनः २०२६ मा मनोनयनमा पर्नु नेपाली इन्जिनियरिङ क्षेत्रका लागि उल्लेखनीय उपलब्धि भएको बताइएको छ । पुरस्कार समारोह आगामी सेप्टेम्बर १७ मा अस्ट्रेलियाको क्यानबेरामा आयोजना हुँदैछ ।
पोखरेल हाल CEMAT Consultants (P) Ltd. का प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत छन् । उनी नेपालको क–श्रेणीको नबिल बैंक लिमिटेडमा ऊर्जा तथा पूर्वाधार सल्लाहकारका रूपमा समेत आबद्ध छन् । उक्त भूमिकामा उनले ऊर्जा तथा पूर्वाधार परियोजनाका लागि रणनीतिक परामर्श प्रदान गर्दै बैंकलाई लगानीसम्बन्धी निर्णयमा सहयोग गर्दै आएका छन् ।
त्यस्तै, उनी स्विट्जरल्यान्डस्थित Global Infrastructure Basel Foundation अन्तर्गतको Fast Infra Label को Executive Advisory Committee Member का रूपमा पनि संलग्न छन् । उक्त भूमिकामार्फत उनले दिगो पूर्वाधार परियोजनाको मूल्याङ्कन, नीति निर्माण तथा अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी कार्यमा योगदान दिँदै आएका छन् ।

पोखरेलले आफ्नो व्यावसायिक यात्रामा प्राविधिक दक्षता र आयोजना व्यवस्थापन सीपलाई निरन्तर विकास गर्दै आएको बताएका छन् । उनी दिगो पूर्वाधार तथा ऊर्जा विकासले दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने धारणा राख्छन् ।
उनका अनुसार इन्जिनियरहरूले इमानदारी, निष्ठा र सामाजिक उत्तरदायित्वका साथ राष्ट्र विकासमा योगदान गर्नुपर्छ । नवप्रवर्तन, समुदाय सशक्तीकरण र व्यावसायिक दक्षतालाई प्राथमिकता दिँदै आएका पोखरेलको दोहोरिएको अन्तर्राष्ट्रिय मनोनयनले नेपाली इन्जिनियरहरूको क्षमता र योगदानलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । यसले नेपालका युवा इन्जिनियरहरूलाई आफ्नो सीप र प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ ।











