काठमाडाैँ । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागकाअनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्याएको छ ।
कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामा धान बालीका लागि नहर निरन्तर सञ्चालनमा रहेकाले निर्माणका काम बाली भित्र्याएपछिको समयमा केन्द्रित गर्ने गरी तालिका मिलाइएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । बाली सिजनमा विभागले किसानलाई पानी आपूर्ति प्राथमिकतामा राखिएको उनले बताए ।
यसबाहेक पोखरा (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर अन्तर्गत ३ हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको रजौरियाले बताए । सिक्टा र बबईसहित भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ पुगेको विभागले जनाएको छ ।











