काठमाडाैँ । नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष ध्रुव थापाले उद्योगीहरू पुनरावलोकनमा जान चेक काटेर बसेको बताएका छन् । डेडिकेटेड र ट्रंक लाइन प्रिमियम महशुल विवादका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै थापाले सबै उद्योगले डेडिकेटेड र ट्रंक लाइनको पहिलो किस्ताको रकम जम्मा गरी लाइन जोड्ने र प्रशासकीय पुनरावलोकनमा जान तयारी गरेको बताए ।
डेडिकेटेड ट्रंकलाइनको विवादित महसुलबाट पीडित तथा प्रताडित उद्योगी समूहको तर्फबाट बोल्दै थापाले दीर्घकालीन नभए पनि अल्पकालीन समस्या समाधान भएको बताए । उनले अहिलेको कठिन परिस्थितिमा २५ वटा उद्योगको लाइन काटिँदा अन्योलपूर्ण अवस्थामा पुगेका बताए । १५ दिन सम्म बिजुली नहुँदा मजदुरहरू बेरोजगारीतर्फ उन्मुख भइरहेकाे बताए ।
‘धरौटीस्वरूप पहिलो किस्ता बुझाउन सबै उद्योगी चेक काटेर बसेका छन् । सहमति अनुसारकाे निर्देशन नेपाल विद्युत प्राधिकरणमा पुगेपछि चेक जम्मा गरेर आजै उद्योगको लाइन जोडियोस् भन्ने हाम्रो चाहना हो । नेपाल उद्योग वाणिज्य महासंघको प्रस्तावअनुसार भएको सहमति छिटाे कार्यन्वयन हुनुपर्छ,’ उनले भने ।
महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योगीको माग अनुसार डेडिकेटेड र ट्रंक लाइनको विवादमा सरकारसँग अण्डरस्ट्याण्डिङ भएको बताएका छन् । उनले लाइन जोड्न महासंघले सबैसँग छलफल र पहल गरेको बताउदै प्रधानमन्त्री, अर्थमन्त्री, उर्जामन्त्री, उद्योगमन्त्री, प्राधिकरणका एमडी, नियमन आयोगका अध्यक्ष सबैसँग छलफल गरेको उल्लेख गरे । छलफलबाट नै अहिले सहमति भएको उनले बताए ।
उद्योगीहरुले विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि २८ किस्ताको सुविधा दिएअनुसार बुझाएको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित बक्यौताको धरौटिका रुपमा लिएर काटिएको विद्युतको लाइन तुरुन्त जोडिने र उक्त धरौटि रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जान सक्ने गरि अहिले सहमति भएको छ।








