काठमाडौँ । गण्डकी प्रदेशको कास्की जिल्लामा १८ मेगावाट क्षमताको सुप्रिम मध्य सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । केसीज होटल्स एण्ड मल्टिफ इन्डष्ट्रिज प्रा.लि.ले पोखरा महानगरपालिकाका वडा नं. १४, २७, २९ र ३३ मा पर्ने विजयपुर खोला र सेती नदीको पानी उपयोग गरी आयोजना अघि बढाएको हो ।
कम्पनीले आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तथा अद्यावधिक सम्भाव्यता अध्ययनका आधारमा अनुमति दिने तयारी गरिरहेको जनाएको छ ।
आयोजनाको डिजाइन बहाव ४४.१४ घनमिटर प्रतिसेकेण्ड र समग्र हेड ५० मिटर रहनेछ । यसबाट वार्षिक औसत १०९.३३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाले विजयपुर–२ जलविद्युत् आयोजनाको टेलरेसबाट निस्केको पानी र सेती नदीको बहाव उपयोग गर्नेछ ।
मुख्य संरचना सेती नदीको बायाँ किनार, पोखरा महानगर क्षेत्रमा रहनेछन् । आयोजनाका लागि सेती नदीमा ९० मिटर लामो र ४ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
संकलित पानीलाई २०७७ मिटर लामो हेडरेस क्यानलमार्फत फोरबेमा पु¥याइनेछ । त्यसपछि १०५७ मिटर लामो पाइप, सर्ज साफ्ट र १८० मिटर लामो पेनस्टक पाइप हुँदै पानी विद्युतगृहमा पुर्याइनेछ ।
विद्युतगृहमा जडित तीन वटा टरबाइन र तीन वटा थ्री–फेज जेनेरेटरमार्फत १८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत् ४.५ किलोमिटर लामो प्रसारण लाइनमार्फत लेखनाथ सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको निर्माण कार्य २०८७ सालभित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।








