Monday, May 11, 2026
spot_img

इप्पानलाई ‘सुन्ने’ होइन, ‘गर्ने’ संस्था बनाउने मेराे अठोटः टीएन आचार्य

spot_img

Share

spot_img

काठमाडौँ । नेपालको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्र अहिले एक ऐतिहासिक र महत्वपूर्ण मोडमा छ । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरिसकेको छ । एकातिर स्थिर सरकारको वातावतरण बनेको छ भने अर्कोतिर अन्तराष्ट्रिय बजारसँगको विद्युत् व्यापारका ढोकाहरू खुल्दै गएका छन् ।

निजी क्षेत्रको लगानी निरन्तर बढिरहेको छ, विद्युत निर्यातको सम्भावना विस्तार हुँदैछ र ऊर्जा अब केवल पूर्वाधार विकासको विषय नभई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित हुँदै गएको छ ।

यस्तो परिस्थितीमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को भूमिका केबल एक दबाब समूहमा मात्र सीमित नरहेर राष्ट्र निर्माणको एक दरिदो साझेदारको रूपमा रुपान्तरण हुनु आवश्यकता देखिएको छ ।

यसैबीच, इप्पानको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका ऊर्जा उद्यमी तथा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट टीएन आचार्यले आफ्ना अनुभव र स्पष्ट भिजन अघि सारेका छन् । उनले ऊर्जा क्षेत्रको नीतिगत जटिलता र वित्तीय संरचनालाई नजिकबाट बुझेका छन् । उनले संस्थालाई ‘सुन्ने’ मात्र होइन, ‘काम गरेर नतिजा दिने’ संगठनमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा मात्र नभई ऊर्जा क्षेत्रका प्रवर्द्धकहरूको वास्तविक समस्या समाधान गर्ने अभियानका रूपमा प्रस्तुत भइरहेको छ ।

अनुभव र व्यावसायिकताको मिश्रण

पेशाले सफल चार्टर्ड एकाउन्टेन्ड रहेका आचार्यसँग १९ वर्षभन्दा लामो कार्य अनुभव छ । वित्तीय व्यवस्थापन, संस्थागत प्रशासन र ऊर्जा क्षेत्रको नीतिगत पक्षमा लामो अनुभव रहेको आचार्यले झन्डै १९ वर्षदेखि विभिन्न सार्वजनिक तथा निजी संस्थामा नेतृत्वदायी भूमिकामा काम गर्दै आएका छन् ।

ऊर्जा क्षेत्रमा प्रत्यक्ष संलग्नता भने उनको पछिल्ला डेढ दशकयता अझ गहिरो बनेको छ । उनले नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम, दूरसञ्चार प्राधिकरण तथा नागरिक लगानी कोष जस्ता महत्वपूर्ण सार्वजनिक संस्थाहरूमा बोर्ड सदस्यका रूपमा काम गरिसकेका छन् ।

हाल उनी भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष हुन् । यस भूमिकाले उनलाई नीतिगत तहदेखि आयोजना निर्माणको ‘ग्राउन्ड रियालिटी’ सम्मको अनुभव दिएको छ ।

विगत ३ वर्षदेखि इप्पानको कार्यसमिति सदस्यको रूपमा सक्रिय उनले नीतिगत सल्लाहकार समिति र आर्थिक समितिमा रहेर संस्थागत सुधारका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

‘सुन्ने’ इप्पानबाट ‘गर्ने’ इप्पानसम्मको यात्रा

आचार्यका अनुसार विगत केही वर्षमा इप्पानले आफ्नो संस्थागत उपस्थिति बलियो बनाएको छ । सरकारसँग संवाद गर्ने वातावरण बनेको छ र ऊर्जा क्षेत्रका आवाज नीति निर्माण तहसम्म पुग्न थालेका छन् । तर, अबको समय भनेको सुनाउने मात्र होइन, नजिता निकाल्ने हो । ‘हामीले इप्पानलाई सुन्ने संस्थाको रूपमा त पुर्यायौँ तर, प्रवर्द्धकका फाइलहरू अझै मन्त्रालयका दराजमा अड्किएका छन् । अब यसलाई गर्न सक्ने र नतिजामुखी संस्था बनाउनुपर्ने छ’ उनी भन्छन् ।

उनको मुख्य दर्शन भनेको ‘प्रो–एक्टिभ’ इप्पान हो । समस्या आएपछि समाधान खोज्ने भन्दा समस्या आउनै नदिने गरी नीतिगत पैरवी गर्नु उनको प्राथमिकता हो । ऊर्जा उद्यमीहरूले झेल्नुपर्ने प्रशासनिक झन्झट, वन र जग्गा प्राप्तिका समस्याहरूलाई समाधान गर्न अब भाषण मात्र होइन, प्राविधिक र कानूनी लबिङको आवश्यकता उनी देख्छन् ।

आयोजनाको लाइसेन्स, वित्तीय व्यवस्थापन, प्रसारण लाइन, विद्युत खरिद सम्झौता (पिपिए), वन तथा वातावरणीय स्वीकृति, बैंकिङ दबाब र नीतिगत अस्थिरताले थिचिएका प्रवर्द्धकहरूको वास्तविक समस्या समाधानमा संस्था प्रत्यक्ष रूपमा उभिनुपर्छ ।

प्रवर्द्धकहरूको ‘अदृश्य पीडा’ उठाउने प्रतिबद्धता

नेपालमा जलविद्युत आयोजना निर्माण गर्ने अधिकांश प्रवर्द्धकहरूले व्यक्तिगत सम्पत्ति धितो राखेर आयोजना अघि बढाएका हुन्छन् । बैंकहरूमा अर्बौँ रुपैयाँको व्यक्तिगत ग्यारेन्टी, ऋणको चाप, निर्माण ढिलाइ, सरकारी प्रक्रियाको जटिलता र बजार अनिश्चितताले धेरै उद्यमीहरू मानसिक तथा आर्थिक दबाबमा छन् ।

तर, यस्ता समस्याहरू सार्वजनिक बहसमा कमै आउने गरेको आचार्यको भनाइ छ । उनका अनुसार जलविद्युत आयोजना केवल व्यवसायिक लगानी होइन, हजारौँ लगानीकर्ता र परिवारको भविष्यसँग जोडिएको विषय हो ।

‘प्रवर्द्धकहरूले आफ्नो घरजग्गा धितो राखेर आयोजना बनाइरहेका छन् । कतिपय अवस्थामा उनीहरूको व्यक्तिगत जीवन नै जोखिममा परेको हुन्छ । यस्ता विषयलाई संस्थागत रूपमा उठाउने र समाधानका लागि नीतिगत दबाब सिर्जना गर्ने काम अब इप्पानले गर्नुपर्छ,’ उनी बताउँछन् ।

उनी महासचिवमा निर्वाचित भए प्रवर्द्धकहरूको जोखिम न्यूनीकरण, बैंकिङ सहजीकरण र सरकारी प्रक्रियालाई सरल बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताउँछन् ।

व्यावसायिक, पारदर्शी र अनुशासित इप्पान

चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिका कारण आचार्य संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई विशेष महत्व दिन्छन् । कुनै पनि संस्था बलियो बन्न आन्तरिक अनुशासन, स्पष्ट नीति र व्यावसायिक प्रणाली आवश्यक हुने उनको धारणा छ । त्यसैले उनले इप्पानलाई अझ बढी संस्थागत, व्यवस्थित र परिणाममुखी बनाउने योजना अघि सारेका छन् ।

उनका अनुसार सदस्यहरूको अपेक्षा अहिले धेरै बढेको छ । केवल औपचारिक कार्यक्रम वा बैठकले मात्रै अब संस्थाको उद्देश्य पूरा हुँदैन । ‘इप्पानलाई आधुनिक, डेटा–ड्रिभन र प्रोफेशनल संस्था बनाउनुपर्छ । सदस्यहरूले संस्थाबाट प्रत्यक्ष लाभ अनुभूति गर्न सक्नुपर्छ,’ उनी भन्छन् । उनले संस्थाभित्र डिजिटल प्रणाली विस्तार, नीति अनुसन्धान, सदस्य सेवा सुधार र नियमित कार्यप्रगति मूल्यांकनको व्यवस्था गर्ने संकेत दिएका छन् ।

सरकारसँगको रणनीतिक साझेदारी

आचार्यको अर्को प्रमुख एजेन्डा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउने हो । सरकारले लिएको ३० हजार मेगावाट उत्पादनको लक्ष्य निजी क्षेत्रको सक्रिय सहभागिताबिना सम्भव नहुने उनको तर्क छ ।

नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको योगदान निरन्तर बढ्दै गएको उल्लेख गर्दै उनी सरकारले पनि निजी क्षेत्रलाई ‘साझेदार’ का रूपमा लिनुपर्ने बताउँछन् । उनका अनुसार इप्पानले सरकारसँग अनावश्यक टकरावको राजनीति होइन, समाधानमुखी सहकार्यको वातावरण बनाउनुपर्छ । ‘सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध निर्माण गर्नुपर्छ । इप्पान केवल माग राख्ने संस्था होइन, सरकारलाई नीति निर्माणमा सहयोग गर्ने सक्षम साझेदार बन्नुपर्छ,’ उनी भन्छन् ।

स्पष्ट ‘रोडम्याप’ सहित चुनावी मैदानमा

आचार्य आफू केवल पदका लागि उम्मेदवार नभएको दाबी गर्छन् । उनका अनुसार उनले आगामी तीन वर्षका लागि स्पष्ट कार्ययोजना र प्राथमिकता तय गरेका छन् । उनले ऊर्जा उद्यमीहरूको समस्या पहिचान गरेर त्यसको समाधानका लागि चरणबद्ध रोडम्याप तयार पारेको बताएका छन् । त्यसमा नीति सुधार, लगानीमैत्री वातावरण, संस्थागत क्षमता विकास, सरकारसँगको समन्वय र सदस्यहरूको अधिकार संरक्षण मुख्य विषय रहेका छन् ।

ऊर्जा क्षेत्रमा लामो समय बिताएका कारण समस्या कहाँ छ र समाधान कसरी सम्भव छ भन्ने आफूलाई राम्रो जानकारी रहेको उनको विश्वास छ ।

नयाँ नेतृत्वप्रतिको अपेक्षा

नेपालको ऊर्जा क्षेत्र अहिले अवसर र चुनौती दुवैको संगममा छ । एकातर्फ विद्युत उत्पादन, निर्यात र हरित ऊर्जाको विश्वव्यापी मागले नयाँ सम्भावना सिर्जना गरेको छ भने अर्कोतर्फ प्रसारण लाइन अभाव, नीतिगत ढिलासुस्ती, वित्तीय जोखिम र प्रशासनिक जटिलता अझै कायम छन् ।

यस्तो अवस्थामा इप्पानभित्र पनि सक्षम, व्यावसायिक र समस्या बुझ्ने नेतृत्वको आवश्यकता महसुस गरिएको छ । टिएन आचार्यको उम्मेदवारीलाई धेरैले त्यही आवश्यकता पूरा गर्ने प्रयासका रूपमा हेरेका छन् । उनको अनुभव, वित्तीय पृष्ठभूमि, नीतिगत समझ र प्रत्यक्ष ऊर्जा क्षेत्रमा सक्रिय संलग्नताले इप्पानलाई नयाँ उचाइमा लैजान सक्ने अपेक्षा गरिएको छ ।

आचार्य स्वयं पनि ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक भविष्यसँग जोडेर हेर्छन् । ‘ऊर्जा नै नेपालको समृद्धिको आधार हो । यो क्षेत्रमा लगानी गर्ने उद्यमीहरूको पीडा बुझ्ने र उनीहरूको पक्षमा प्रभावकारी रूपमा उभिन सक्ने इप्पान निर्माण गर्नु मेरो मुख्य उद्देश्य हो,’ उनी भन्छन् । उनको यही भनाइले आगामी नेतृत्वप्रतिको उनको दृष्टिकोण स्पष्ट पार्छ ‘इप्पान अब केवल सुन्ने संस्था होइन, परिणाम दिने संस्था बन्नुपर्छ’ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img