काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको आयोगको अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
नियुक्ती सिफारिस समितिले रिक्त पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । समितिले सार्वजनिक गरेको सूचनाअनुसार आयोगमा एक अध्यक्ष र एक महिला सहित चार सदस्य पद रिक्त रहेका छन् ।
विद्युत् नियमन आयोग ऐन, २०७४ अनुसार आवश्यक योग्यता र अनुभव भएका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवेदन दिने उम्मेदवारले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, बायोडाटा, कार्य अनुभव खुल्ने कागजात र स्वघोषणा पत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै आयोगको भावी कार्यदिशा समेटिएको पाँच हजार शब्द नबढ्ने ‘बिजनेस एक्सन प्लान’ तीन प्रति सिलबन्दी खाममा बुझाउनुपर्नेछ ।
दरखास्त दस्तुरबापत राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारस्थित राजस्व खातामा तीन हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर समेत अनिवार्य गरिएको छ । आवेदन ऊर्जा मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा बुझाउनुपर्ने जनाइएको छ ।
समितिका अनुसार प्रारम्भिक चरणमा न्यूनतम योग्यता पुगेका उम्मेदवारको आवेदन स्वीकृत गरिनेछ । त्यसपछि पेश गरिएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गरिने र कम्तीमा ५० प्रतिशत अंक ल्याउने उम्मेदवारलाई मात्र प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिनेछ ।
सदस्य पदका उम्मेदवारको छनोट भने फरक–फरक विषयगत क्षेत्रका आधारमा गरिने समितिले जनाएको छ । आवेदन दिने उम्मेदवारले आफूले दाबी गर्ने विशिष्टीकृत क्षेत्र स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।
मन्त्रालयले नियुक्तिसम्बन्धी विस्तृत सूचना र आवेदन फाराम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय बाट डाउनलोड गर्न सकिने जनाएको छ।








