Thursday, June 25, 2026
spot_img

नेपालकै पहिलो मानवविहीन अटो रिकलोजर तथा स्काडा आधारित सबस्टेशन सञ्चालनमा

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, भरपर्दो तथा स्वचालित बनाउने उद्देश्यसहित निर्माण गरेको लेटाङ–३ स्थित ३३/११ केभी, ८ एमभीए क्षमताको मानवविहीन (Unmanned) अटो रिकलोजर तथा SCADA आधारित सबस्टेशन सफल परीक्षण, कमिसनिङ र चार्जिङपछि सञ्चालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगर अन्तर्गत निर्माण गरिएको उक्त सबस्टेशन नेपालको विद्युत् वितरण प्रणालीमा पहिलो पटक अटो रिकलोजर (AR) र SCADA नियन्त्रण प्रणालीमा आधारित मानवविहीन सबस्टेशनका रूपमा स्थापित भएको हो । यसलाई वितरण प्रणालीको आधुनिकीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

लेटाङ क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत् आपूर्ति सम्बन्धी समस्या रहँदै आएको र स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार कोशी प्रादेशिक कार्यालयले बिराटचोक–केरुङ ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउँदै द्रुत गतिमा सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।

२०७९ साल वैशाख ६ गतेबाट निर्माण सुरु भएको आयोजना २०८३ साल असार ५ गते सफलतापूर्वक सम्पन्न भई चार्ज गरिएको हो । करिब १० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सबस्टेशनको निर्माण जिम्मेवारी जय दुर्गे इन्फ्रा इन्जिनियरिङले वहन गरेको थियो ।

सबस्टेशनमा ८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ । ३३ केभीतर्फ चार वटा बे (एक इनकमर, एक आउटगोइङ, एक ट्रान्सफर्मर तथा एक स्पेयर) र ११ केभीतर्फ पाँच वटा बे (एक इनकमर तथा चार आउटगोइङमध्ये दुई स्पेयरसहित) स्थापना गरिएको छ । यसका साथै नियन्त्रण कक्ष तथा कर्मचारी आवाससहितको कार्यालय भवन पनि निर्माण गरिएको छ ।

आयोजना सञ्चालनमा आएपछि लेटाङ नगरपालिका र बेलबारी नगरपालिका क्षेत्रका हजारौँ विद्युत् उपभोक्ताले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । यसबाट वितरण प्रणालीमा रहेका प्राविधिक तथा व्यावसायिक हानिमा कमी आउने, भोल्टेज स्तरमा सुधार हुने, अनावश्यक ट्रिपिङ तथा विद्युत् अवरोध न्यून हुने र राजस्व संकलनमा वृद्धि हुने विश्वास गरिएको छ ।

मानवविहीन तथा पूर्ण स्वचालित प्रणाली भएकाले सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तथा सञ्चालन खर्चमा समेत उल्लेखनीय कमी आउने प्राधिकरणले जनाएको छ । परियोजनामा CG Make का Auto Recloser तथा Siemens को SCADA System प्रयोग गरिएको छ, जसले दूरस्थ निगरानी तथा नियन्त्रण (Remote Monitoring and Control) मार्फत सबस्टेशनको सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नेछ ।

नेपाल विद्युत प्राधिकरण तथा निर्माण कम्पनीका प्राविधिक टोलीहरूको संयुक्त प्रयासबाट सम्पन्न भएको यो आयोजना कोशी प्रदेशको विद्युत् वितरण प्रणालीलाई थप भरपर्दो, आधुनिक तथा स्मार्ट ग्रिड प्रविधितर्फ उन्मुख गराउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img