Sunday, August 16, 2026
spot_img

धादिङमा ४९ मेगावाटको सौर्य आयोजना विकास गर्दै रिन्यू होल्डिङ्स

spot_img

Share

spot_img

काठमाडाैँ । निजी क्षेत्रबाट ठूला सौर्य ऊर्जा आयोजना विकास गर्ने अभियानमा रहेको रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ । कम्पनीले आयोजना विकासको पहिलो चरणअन्तर्गत सर्वेक्षण अनुमति (सर्भे लाइसेन्स) प्राप्त गर्न विद्युत् विकास विभागमा आवेदन दिएको हो ।

विभागका अनुसार धादिङको सलाङ क्षेत्रमा प्रस्तावित आयोजनाका लागि कम्पनीले गत असार २३ गते औपचारिक रूपमा अनुमति मागेको छ । विभागबाट स्वीकृति प्राप्त भएपछि आयोजना सम्बन्धी विस्तृत प्राविधिक तथा वातावरणीय अध्ययन अघि बढाइनेछ ।

सौर्य ऊर्जा, जलविद्युत् र हरित पूर्वाधारमा लगानी विस्तार गर्दै आएको रिन्यू होल्डिङ्सले आगामी केही वर्षभित्र नेपालमा ठूलो क्षमताका सौर्य आयोजना विकास गर्ने रणनीति बनाएको छ । कम्पनीले सन् २०३० सम्म १ हजार मेगावाटपीकभन्दा बढी क्षमताका युटिलिटी–स्केल सौर्य आयोजना निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

त्यसैगरी, १०० मेगावाटपीक क्षमताका रुफटप सोलार प्रणाली तथा १ हजार मेगावाटपीक बराबरका एग्रीभोल्टाइक परियोजना विकास गर्ने योजना पनि कम्पनीको छ । विद्युत् माग उच्च हुने सुख्खायाम र साँझको समयमा आपूर्ति व्यवस्थापन सहज बनाउन १.५ देखि २ गिगावाट–आवर क्षमताको ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) समेत आयोजनासँगै विकास गर्ने तयारी गरिएको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको अगुवाइमा स्थापित कम्पनीको सञ्चालक तथा नेतृत्व समूहमा पूर्वमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, सेन्चुरी बैंकका पूर्व अध्यक्ष राजेशकुमार श्रेष्ठ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का पूर्व प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा तथा ऊर्जा–पूर्वाधार विज्ञ विदुरराज गौतम आबद्ध छन् ।

रिन्यू होल्डिङ्सले ठूला आयोजना मात्र नभई व्यावसायिक र औद्योगिक क्षेत्रमा पनि सौर्य ऊर्जा विस्तार गरिरहेको छ । कम्पनीले हालसम्म भाटभटेनी सुपरमार्केटका २५ भन्दा बढी शाखामा ६.७८ मेगावाटपीक क्षमताका रुफटप सोलार प्रणाली जडान गरिसकेको जनाएको छ । साथै, सीएमसी, काठमाडौं स्टिल र गार्मेन्ट उद्योगहरूमा समेत विभिन्न क्षमताका सौर्य परियोजना कार्यान्वयनको चरणमा रहेका छन् ।

धादिङको प्रस्तावित ४९ मेगावाटको आयोजना कम्पनीको युटिलिटी–स्केल सौर्य ऊर्जा विस्तार योजनाको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img