काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले ग्राहक सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सूचना तथा गुनासो व्यवस्थापनसम्बन्धी पहल अघि बढाएको छ ।
यसअन्तर्गत वितरण केन्द्र, उप-वितरण केन्द्र, फ्युज सेवा तथा अन्य सेवा केन्द्रमार्फत प्रदान गरिने लाइन विस्तार, नयाँ मिटर तथा लाइन जडान, क्षमता वृद्धि, नामसारी, मिटर परिवर्तनलगायतका सेवाका लागि आवश्यक कागजात पेश गरी तोकिएको आधिकारिक सेवा शुल्क मात्र बुझाउन सेवाग्राहीलाई आग्रह गरिएको छ । शुल्क बुझाएपछि अनिवार्य रूपमा रसिद लिनसमेत अनुरोध गरिएको छ ।
छिटो वा प्राथमिकतामा सेवा दिलाइदिने बहानामा कर्मचारी, बिचौलिया वा अन्य व्यक्तिलाई अतिरिक्त रकम, कमिसन, उपहार वा अन्य कुनै अनुचित लाभ नदिन निर्देशनालयले स्पष्ट पारेको छ । तोकिएको शुल्कबाहेक रकम माग गरिएमा, अनावश्यक ढिलासुस्ती गरिएमा वा अनुचित व्यवहार भएमा सम्बन्धित वितरण केन्द्र प्रमुख तथा प्रदेश/डिभिजन प्रमुखलाई सिधै जानकारी गराउन सकिने व्यवस्था गरिएको छ ।
निर्देशनालयको यस पहलले सेवाग्राहीलाई सही सूचना उपलब्ध गराउनुका साथै गुनासोको प्रभावकारी सुनुवाइ, उत्तरदायित्व र पारदर्शिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।











