काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ ।
महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिको जिम्मेवारी दिएको हो । ऊर्जा क्षेत्र नेपालको आर्थिक विकास र औद्योगिकीकरणको महत्वपूर्ण आधार बन्दै गएको अवस्थामा लामिछानेको नेतृत्वलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि र प्रतिष्ठालाई थप सशक्त बनाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरेका छन् । लामिछानेले समितिको नेतृत्व गर्दै ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी नीति, गतिविधि तथा महासंघका कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गरिरहेको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन् । ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय लामिछानेको अनुभवले समितिको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने महासंघको अपेक्षा छ। महासंघले समितिका गतिविधि तथा कार्यभारको त्रैमासिक रूपमा पुनरावलोकन तथा मूल्यांकन गर्ने व्यवस्था रहेको जनाएको छ।











