Thursday, September 17, 2026
spot_img

जलवायुजन्य जोखिमका लागि बहुजोखिमयुक्त प्यारामेट्रिक बीमा विकासमा जोड

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय र जाइकाका विज्ञहरूबिच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित आर्थिक क्षतिको बीमामार्फत व्यवस्थापन गर्न सकिने उपाय, हाल प्रचलनमा रहेका विभिन्न प्रकारका प्यारामेट्रिक बीमालेख तथा नेपालमा यसको विस्तारका लागि आवश्यक तथ्याङ्क, पूर्वाधार र प्राविधिक पक्षका विषयमा विस्तृत छलफल भएको थियो ।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनले नेपालमा प्यारामेट्रिक बीमाको व्यापक विस्तारका लागि विश्वसनीय, नियमित र पर्याप्त जोखिमसम्बन्धी तथ्याङ्कको उपलब्धता अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले जापान सरकार र प्राधिकरण विच आवश्यक प्राविधिक सहकार्य हुन सकेमा नेपालको आवश्यकता र जोखिम अनुकूल प्यारामेट्रिक बीमालेखको डिजाइन तथा विकास गर्न सहज हुने धारणा व्यक्त गरे ।

उनले विशेषगरी उपग्रहबाट प्राप्त तथ्याङ्क, एटलस तथा अन्य प्रविधिमा आधारित तथ्याङ्कको उपयोग गरी बाढी, अत्यधिक तापक्रम, वर्षा, अतिवृष्टि, खडेरीलगायत जलवायुजन्य जोखिमसँग सम्बन्धित सूचकाङ्क (Index) विकास गर्न सकिने सम्भावनातर्फ ध्यानाकर्षण गराए । देशका विभिन्न भौगोलिक क्षेत्रमा उपलब्ध जोखिमसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित र एकीकृत गर्न सकेमा सोही आधारमा विभिन्न जोखिमका लागि उपयुक्त प्यारामेट्रिक बीमा उत्पादन विकास गरी निर्जीवन बीमा कम्पनीमार्फत देशव्यापी रूपमा विस्तार गर्न सकिने उनले बताए ।

जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित सरकारी तथा प्राविधिक निकायसँग समन्वय र सहकार्य गरी तथ्याङ्कको उपलब्धता, विश्वसनीयता र पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । साथै, प्यारामेट्रिक बीमा कार्यान्वयनका क्रममा देखिन सक्ने प्राविधिक तथा व्यावहारिक चुनौती पहिचान गरी समाधानका लागि नियामक निकाय, बीमा कम्पनी, प्राविधिक संस्था तथा अन्य सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

बहुजोखिम (Multiple risk) समेटिएको प्यारामेट्रिक बीमाको सम्भावनाबारे समेत विचार आदानप्रदान भएको थियो । सो अवसरमा प्रदेश प्रमुख महर्जनले नेपाल बीमा प्राधिकरणबाट हालै कार्यान्वयनमा ल्याइएको वन्यजन्तुसम्बन्धी बहुजोखिम बीमालेखको उदाहरण प्रस्तुत गर्दै एउटै बीमालेखमार्फत विभिन्न प्रकारका जोखिमलाई सम्बोधन गर्न सकिने सम्भावना रहेको र यस्ता नवीन तथा आवश्यकतामा आधारित बीमा योजनाको विकासमा जोड दिनुपर्ने धारणा राखे ।

बैठकमा जाइकाका विज्ञ डाइकि नोशे (Daiki NOSE), जलवायु जोखिम विज्ञ मधुसुदन गौतम लगायत चार जना विशेषज्ञ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलमा जलवायु तथा विपद्जन्य जोखिमको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै तथ्याङ्क, प्रविधि, अनुसन्धान र बीमाबीचको सहकार्यलाई थप सुदृढ गर्दै नेपालमा प्यारामेट्रिक बीमाको विकास र विस्तारका लागि सम्भावित प्राविधिक सहकार्यका क्षेत्रहरुका विषयमा सकारात्मक छलफल भएको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img