Thursday, September 24, 2026
spot_img

विपद्पछि कर्मचारीको मानसिक स्वास्थ्यमा प्राधिकरणको ध्यान, २५ जनालाई तनाव व्यवस्थापन तालिम

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित तथा उद्धार कार्यमा खटिएका आफ्ना कर्मचारीलाई लक्षित गरी ‘पोस्ट–डिजास्टर ट्रमा रिलिफ एन्ड स्ट्रेस म्यानेजमेन्ट’ सम्बन्धी आवासीय तालिम सञ्चालन गर्ने भएको छ ।

प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गतको तालिम व्यवस्थापन विभागले विपद्का कारण प्रभावित कर्मचारीको मानसिक तनाव तथा आघात व्यवस्थापनका लागि चारदिने आवासीय तालिम सञ्चालन गर्न लागेको हो ।

विभागले प्राधिकरणको प्रशासन निर्देशनालयलाई पत्राचार गर्दै विपद्बाट उद्धार गरिएका तथा उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिएका कर्मचारीलाई प्राथमिकता दिई पहिलाे चरणमा २५ जना कर्मचारी मनोनयन गरी पठाउन अनुरोध गरेको छ । तालिम २०८३ असोज १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने पत्रमा उल्लेख छ । तालिममा सहभागी हुने कर्मचारीको नाम, पद, कार्यरत कार्यालय तथा सम्पर्क नम्बरसमेत उपलब्ध गराउन प्रशासन निर्देशनालयलाई आग्रह गरिएको छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्का कारण प्राधिकरणका विभिन्न आयोजना तथा संरचनामा क्षति पुगेको थियो । उक्त विपद्पछि उद्धार, विद्युत् प्रणाली पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापनमा प्राधिकरणका कर्मचारीहरू प्रत्यक्ष रूपमा खटिएका थिए ।

विपद्को समयमा उद्धार तथा पुनःस्थापना कार्यमा लामो समयसम्म खटिँदा कर्मचारीमा मानसिक तनाव, डर तथा आघातजन्य समस्या उत्पन्न हुन सक्ने भएकाले त्यसको व्यवस्थापनका लागि तालिम आयोजना गर्न लागिएको छ । चारदिने आवासीय तालिममा विपद्पछिको मानसिक आघातबाट बाहिर निस्कने उपाय, तनाव व्यवस्थापन तथा विपद्पछि कार्यस्थलमा पुनः प्रभावकारी रूपमा काम गर्न आवश्यक मनोसामाजिक पक्षमा केन्द्रित प्रशिक्षण दिइनेछ ।

तालिमका लागि सहभागी कर्मचारीलाई २०८३ असोज १३ गते दिउँसो ३ बजे नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा उपस्थित हुन सूचित गरिएको छ ।प्राधिकरणले विपद्पछि भौतिक संरचनाको पुनर्निर्माण तथा विद्युत् सेवा पुनःस्थापनासँगै विपद्मा प्रत्यक्ष प्रभावित र उद्धारमा खटिएका कर्मचारीको मानसिक तथा मनोसामाजिक पक्षलाई समेत प्राथमिकता दिन थालेको यो कदमले देखाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img