Tuesday, September 29, 2026
spot_img

प्रसारण लाइनमा बाढीको क्षति, म्याग्दी र बागलुङका दुई जलविद्युत् आयोजना बन्द

spot_img

Share

spot_img

काठमाडाैँ । बाढीपहिरोले जलविद्युत् आयोजनाका उत्पादन संरचनाभन्दा प्रसारण पूर्वाधारमा ठूलो क्षति पुर्‍याउँदा म्याग्दी र बागलुङका दुई जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण ठप्प भएको छ ।

प्रसारण लाइनका टावर, पोल र तारमा क्षति पुगेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना र बागलुङको ९.६ मेगावाट क्षमताको दरमखोला हाइड्रो इलेक्ट्रीक परियोजना राष्ट्रिय विद्युत् प्रणालीमा विद्युत् पठाउन नसक्ने अवस्थामा पुगेका हुन् ।

दुवै आयोजनाले बाढीपहिरोबाट प्रसारण संरचनामा भएको क्षतिबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई छुट्टाछुट्टै जानकारी गराएका छन् ।

४२ मेगावाटको मिस्त्री खोलाको प्रसारण रोकियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण असोज ११ गतेदेखि अवरुद्ध छ । माउण्टेन इनर्जी नेपाल लिमिटेडका अनुसार कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको दाना–कुश्मा २२० केभी प्रसारण लाइनको टावरमा क्षति पुगेको हो ।

प्राधिकरणले असोज १२ गते पठाएको जानकारीअनुसार प्रसारण टावरमा क्षति पुगेपछि आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन नसकिएको कम्पनीले जनाएको छ ।

दरमखोलाको ३३ केभी लाइनमा क्षति

बागलुङमा सञ्चालित ९.६ मेगावाटको दरमखोला हाइड्रो इलेक्ट्रीक परियोजनाको विद्युत् उत्पादन तथा प्रसारण भने असोज ९ गते रातिदेखि बन्द छ । बाढीले आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्याएको हो ।

प्रसारण लाइनमा क्षति पुगेपछि असोज ९ गते राति ८ बजेदेखि आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण पूर्ण रूपमा रोकिएको कम्पनीले जनाएको छ ।

मुख्य संरचना सुरक्षित, लाइन बनेपछि उत्पादन सुरु हुने

बाढीले दरमखोला आयोजनाको हेडवर्क्स, पावरहाउस तथा अन्य प्रमुख संरचनामा भने उल्लेखनीय क्षति नपुर्‍याएको कम्पनीले जनाएको छ । त्यसैले प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भएपछि आयोजना पुनः सञ्चालनमा ल्याउन सकिने कम्पनीको भनाइ छ ।

दुवै आयोजनाको घटनाले पछिल्लो समय बाढीपहिरोबाट जलविद्युत् आयोजनाका उत्पादनगृहभन्दा विद्युत् निकासीका लागि आवश्यक प्रसारण संरचना बढी जोखिममा परेको देखाएको छ ।

प्रसारण लाइनका टावर, पोल वा तारमा क्षति पुग्दा आयोजना सञ्चालन गर्न सक्ने अवस्थामा रहे पनि उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा पठाउन नसक्ने अवस्था सिर्जना हुन्छ । त्यसैले क्षतिग्रस्त प्रसारण संरचनाको पुनःस्थापना आयोजनाको विद्युत् उत्पादन नियमित गर्ने मुख्य पूर्वसर्त बनेको छ ।

प्रसारण लाइनको मर्मत तथा पुनःस्थापना सम्पन्न भएपछि मात्रै मिस्त्री खोला र दरमखोलाबाट विद्युत् उत्पादन तथा केन्द्रीय प्रणालीमा आपूर्ति नियमित हुने देखिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img