काठमाडाैँ । गोरखा र आसपासका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीका कारण आयोजनाका निर्माणस्थलमा रहेका क्याम्प, निर्माण उपकरण, सामग्री तथा पहुँचमार्ग प्रभावित भएका छन् ।
प्रारम्भिक विवरणअनुसार ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणमा समेत क्षति पुगेको छ । त्यस्तै, २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेलीब्रिजसमेत बगाएको छ ।
३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिज, निर्माण सामग्री तथा उपकरणमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा भने पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा क्षति पुगेको छ । बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकनको काम भने बाँकी रहेको छ ।











