काठमाडाैँ । काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीचको सहकार्यमा काठमाडौंको टेकुस्थित फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना कार्य सम्पन्न भएको छ । पुनःस्थापित परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण मङ्सिर १० गते ‘काठमाडौं जलवायु कार्य सप्ताह’को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
युरोपियन युनियनको सहयोगमा सन् २०१७ मा स्थापना भई बन्द अवस्थामा रहेको उक्त परियोजनाको पुनर्निर्माण केन्द्र र महानगरपालिकाबीच २०८३ साउन १८ गते भएको समझदारीअनुसार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले फोहोरबाट ऊर्जा उत्पादनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा विषयका रूपमा लिनुपर्ने बताए । उनले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोत संरक्षण र स्वच्छ वातावरण निर्माणमा संघ, प्रदेश, स्थानीय सरकार तथा नागरिक सबैको साझा जिम्मेवारी रहेको बताए ।
मन्त्री श्रेष्ठले भविष्यमा यस प्लान्टबाट बायोग्याससँगै विद्युत् उत्पादनसमेत गर्न सकिने बताउँदै यस्ता कार्यको सुरुवात स्थानीय तहबाटै हुनुपर्ने बताए । उनले यस क्षेत्रका नीतिगत समस्या मन्त्रालयले सम्बोधन गर्ने र यस्ता परियोजना विस्तार गरी स्थानीय तहलाई स्वच्छ ऊर्जामा आत्मनिर्भर बनाउनुपर्ने बताए । प्रतिनिधिसभामा पेश भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक ऐनका रूपमा आएपछि यस्ता कार्यले थप प्राथमिकता पाउने विश्वास पनि उनले व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले परियोजनाको काम निर्धारित समयमै सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि महानगरपालिका र केन्द्रबीच यस्ता परियोजनामा सहकार्य गर्न महानगरपालिका इच्छुक रहेको बताइन् । उनले फोहोरबाट ऊर्जा उत्पादन, वितरण तथा उपयोगका विषयमा विद्यमान नीतिगत समस्या समाधान गर्न मन्त्रालयलाई आग्रह गरिन् । प्लान्टलाई दिगो रूपमा सञ्चालन गर्न सरोकारवालासँग सहकार्य गर्ने र परियोजनालाई अध्ययनस्थलका रूपमा विकास गर्ने योजना रहेको उनले बताइन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले परियोजनाको पुनर्निर्माण निर्धारित समयमै सम्पन्न भई हस्तान्तरण भएको बताए । उनले यस कार्यमा सहयोग तथा सहकार्य गर्ने महानगरपालिका, विश्व बैंक, प्लान्टको आपूर्तिकर्ता तथा जडानकर्ता कम्पनी जिओन वेस्ट म्यानेजर प्रालिलगायतलाई धन्यवाद दिए । यस्ता परियोजनाले चक्रीय अर्थतन्त्रमा योगदान पुर्याउने भएकाले थप विकास र विस्तार आवश्यक रहेको उनले बताए । आगामी दिनमा पनि केन्द्र र महानगरपालिकाबीच यस्ता आयोजनामा सहकार्यलाई निरन्तरता दिइने उनले बताए ।
नेपालस्थित विश्व बैंकका अपरेसन म्यानेजर रिता कुमारी ढकालले पुनःस्थापित प्लान्टले पुनर्निर्माण मात्र नभई विगतका सिकाइलाई व्यवहारमा उतार्नसमेत सहयोग पुगेको बताइन् । उनले प्लान्ट निर्माण तथा सञ्चालनमा सार्वजनिक–निजी साझेदारी अवधारणामा जोड दिँदै निजी क्षेत्रले निर्माण तथा सञ्चालन र सार्वजनिक क्षेत्रले अनुगमन गर्ने व्यवस्था भएमा परियोजना दिगो हुने बताइन् ।
काठमाडौं महानगरपालिका वडा नं. १२ का अध्यक्ष तथा वातावरण संयोजक बालकृष्ण महर्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्रालय, महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि तथा वातावरणविद्हरूको उपस्थिति रहेको थियो ।
विश्व बैंकको सहयोगमा सन् २०१४ देखि सञ्चालन भएको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम–विस्तारित बायोग्यास आयोजना’ अन्तर्गत नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना तथा ठूला क्षमताका व्यावसायिक बायोग्यास प्लान्ट निर्माणमा सहयोग सुरु गरिएको थियो । हाल उक्त कार्यक्रम विश्व बैंककै मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको छ । यस कार्यक्रमअन्तर्गत सात वटा नगरपालिकामा फोहोरबाट ऊर्जा परियोजना कार्यान्वयन भएका छन् भने २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास परियोजनालाई सहयोग उपलब्ध भएको छ ।
केन्द्रले देशभर नगर फोहोरबाट ऊर्जा परियोजना तथा व्यावसायिक क्षेत्रमा बायोग्यासको सम्भाव्यता अध्ययन गरेको छ । साथै, ४८ मिलियन अमेरिकी डलर बराबरको परियोजना प्रस्ताव हरित जलवायु कोषमा पेश भई स्वीकृतिको प्रक्रियामा रहेको छ । केन्द्रले पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत फोहोरबाट ऊर्जामा आधारित कार्बन परियोजना विकास कार्यसमेत अघि बढाएको छ । फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्लान्टको विकासले सहरी क्षेत्रमा प्रमुख समस्याका रूपमा रहेको कुहिने फोहोर व्यवस्थापनमा योगदान पुर्याउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।











