काठमाडाैँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले निर्माण गतिविधिका कारण प्रभावित हुन सक्ने चमेराको प्राकृतिक बासस्थान संरक्षणका लागि तीनवटा वैकल्पिक आवास निर्माण सुरु गरेको छ ।
आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य भौतिक संरचना निर्माणले चमेराको प्राकृतिक बासस्थानमा असर पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै काठबाट निर्मित कृत्रिम आश्रयस्थल तयार गर्न लागिएको हो । वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार पारेको प्राविधिक डिजाइनअनुसार आवास निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार निर्माण सम्पन्न भएपछि चमेराको उपस्थिति र बासस्थानका लागि उपयुक्त स्थान पहिचान गरी तीनवटै आवास आयोजना क्षेत्रभित्र स्थापना गरिनेछ। विशेषगरी रूख हटाउने तथा निर्माण कार्यका कारण चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने क्षेत्रलाई प्राथमिकतामा राखिने उनले बताए ।
चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले आयोजनाले यसको संरक्षणलाई वातावरणीय व्यवस्थापन योजनाकै हिस्सा बनाएको छ । वैकल्पिक आवास निर्माणले स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै विकास निर्माणका क्रममा वन्यजन्तुको बासस्थानमा पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको १४० मेगावाट क्षमताको यस आयोजनाले विद्युत् उत्पादनका लागि आवश्यक भौतिक संरचनाको निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि अघि बढाइरहेको छ ।











