काठमाडौँ । नेपालले आज अर्थात कात्तिक ३० गतेदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । लामो समयदेखिको निरन्तर छलफल र वार्तापछि गत असोज १७ गते भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालको ४० मेगावाट बिजुली आजदेखि बंगलादेश निर्यात सुरु गरेकाे हो ।
नेपालले आगामी ५ वर्षका लागि ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूले अनलाइनमार्फत औपचारिक उद्घाटन गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेश मन्त्रीहरूको भर्चुअल उपस्थितीमा औपचारिक शुभारम्भ भएको हो ।
नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेरियङ कमिट, जेएससी)को गत असोज १७ गते सम्पन्न छैठौं बैठकले उक्त विद्युत् व्यापारमा त्रिपक्षीय सम्झौता गर्ने टुंगो लागेको थियो । सम्झौता अनुसार प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् निर्यात गर्नेछ ।
प्रतियुनिट ६.४० अमेरिकी सेन्ट अर्थात ८ रुपैयाँका दरले बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ । बंगलादेश ४० मेगावाट विद्युत् निर्यात गर्दा ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई बिक्री गर्ने जनाएको छ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ ।
ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट बंगलादेशको सीमासम्म हुने विद्युत्को नोक्सानी बंगलादेशी पक्षले बेहोर्नेछ । लाइन प्रयोग गरेवापतको ह्विलिङ चार्ज बंगलादेशी कम्पनीले नै तिर्ने व्यवस्था गरिएको छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।
बंगलादेशको मन्त्रीपरिषद्ले २०८० मंसिरमै बीपीडीबीलाई नेपालबाट विद्युत् आयात गर्न अनुमति दिइसकेको थियो । २०८० फागुनमा प्राधिकरण र बीपीडीबीबीच विद्युत् आयात निर्यातका लागि विद्युत् खरिद बिक्री दर बारे सहमति भएको थियो ।
याे पनि पढ्नुहाेसःबंगलादेशी बजारमा भाेलीदेखि नेपालकाे विद्युत्
बंगलादेशमा विद्युत् व्यापारको बाटो खुल्यो, ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा