दोलखा स्थायी घर भएका मनिषा तामाङ अहिले ललितपूर जिल्लाको नखुमा बस्दै आएकी छन् । उनी अहिले स्नातक तहको अध्ययन सँगै ११ बजेदेखि ६ बजेसम्मको जागिर पनि गर्छिन् । उनले अध्ययनका लागि काठमाडौँ आएपछि भान्सामा ग्यास नै प्रयोग गरिन् । एक्लै हुँदा ग्यास लामो समयसम्म चले पनि अहिले सँगै बस्नेको संख्या बढ्दै गएसँगै एक सिलिण्डर ग्यास मुस्किलले एक महिना पुग्ने गरेको उनी बताउँछन् ।
बजारमा विद्युतीय चुलोको प्रयोग, फाइदाको प्रचारप्रसार बढ्दै गएपछि तामाङले यसप्रति चासो देखाएर खोजनीति गरिन् । भाडाँमा बस्ने सबैले आँधा/आँधा रकम उठाएर विद्युतीय चुलो र त्यसमा प्रयोग हुने भाँडा किने । ग्यासको तुलनामा सस्तो भनिएको विद्युतीय चुलोको प्रयोग साच्चिकै सस्तो र लाभदायी रहेको उनी बताउँछिन् । ‘पहिलो पल्ट धेरै लगानी लाग्ने रहेछ, किन्न हिच्किचाएका थियौं । तर, अहिले चुलो र भाँडा किनेर राम्रो गरेको महसुस हुन्छ’ उनले भनिन् ।
यसैगरी, जडिबुटी बस्दै आएको पुजन कार्कीले पनि विद्युतीय चुलो कै प्रयोग गर्छन् । सुनुवारसँग ग्याँस चुलो पनि छ र विद्युतीय चुलो नै सजिलो र लाभदायी हुने हुँदा उनले यसैको बढी प्रयोग गर्छन् । बिहान कलेज जाने र आएर खाना पकाएर खाएर १ बजेको काममा जान्छन् कार्की । खाना पकाउँदा पकाउँदै ग्याँस सकिन्छ कि भन्ने टेनसन नहुने हुँदा ग्यासको तुलनामा विद्युतीय चुलोको प्रयोग धेरै सहज हुने र लाभदायी हुने कार्की बताउँछन् ।
पछिल्लो समय विद्युतीय चुलोको प्रयोगले विद्यार्थी जिवनलाई सहज बनाउँदै लगेको छ । नेपालमा विद्युत् उत्पादन बढेसँगै सरकारले खपत बढाउने योजना अघि सारेको छ । फलस्वरुप खपत बढाउन विद्युतीय चुलोको प्रयोग बढ्दै गएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अतिदुर्गम क्षेत्रबाट काठमाडौँ आएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण गर्दै आएको छ । केन्द्रले हालसम्म विभिन्न नवीकरणीय ऊर्जा प्रविधिको अतिरिक्त ६० हजार भन्दा बढी संख्यामा विद्युतीय चुलो प्रवर्द्धन गरिसकेको छ । केन्द्रले मंसिर २ गतेदेखि २४ जिल्लाका ३ हजार १९१ विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण गरिरहेको छ । यसअघि दुई चरणमा ४ हजार २१५ जना विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण गरिसकेको छ ।
विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरणको माध्यमबाट विद्युतीय चुलो एवं खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई देशव्यापी रुपमा विस्तार गर्न लागिएको केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज ढकालले बताए । उनले सरकारले दोस्रो राष्ट्रिय निर्धारित योगदानमा ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरण गर्न सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो प्रवर्द्धन गर्ने लक्ष्य लिएकोले सो लक्ष्य हासिल गर्नमा विद्युतीय चुलोलाई प्रभावकारी रुपमा प्रवर्द्धन गर्न केन्द्र निरन्तर क्रियाशील रहेको बताए ।
सिमित खर्चमा दुरदराजबाट काठमाडौंमा अध्ययन गर्न आउने विद्यार्थीलाई सहुलियत प्रदान गर्नुको साथै खनिज इन्धनको प्रयोग न्यूनीकरण गरी विद्युतको आन्तरिक खपत वृद्धि गर्नमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
विद्युतीय चुलोको आयात बढ्दै
आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म ७२ हजार २०५ विद्युतीय चुलो आयात भएको छ । जसमा १० करोड २६ लाख ९७ हजार रुपैयाँ बराबरको ५० हजार ६४२ इन्डक्सन चुलो र ३ करोड ८३ लाख ६१ हजार रुपैयाँ बराबरको २१ हजार ५६३ इन्फ्रारेड चलो आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यो आवमा आयात भएको चुलो गत आवको भन्दा बढी हो । गत आवमा यही समयमा ३४ हजार ५५७ इन्डक्सन र १७४५८ इन्फ्रारेड गरी ५२ हजार १५ विद्युतीय चुलो आयात भएको थियो ।