काठमाडाैँ । नेपालको ऊर्जा क्षेत्रमा अर्को ठूलो परियोजना अघि बढ्ने चरणमा पुगेको छ । ६४० मेगावाट क्षमताको कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी तीव्र पारिएको छ ।
प्रारम्भिक रूपमा ८४४ मेगावाट प्रस्ताव गरिएको यो आयोजना अध्ययनपछिको प्राविधिक विश्लेषणका आधारमा घटाएर ६४० मेगावाटमा सीमित गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ, जसले निर्माण प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने बाटो खोल्ने अपेक्षा गरिएको छ ।
प्रस्तावित बाँध गुल्मी र पर्वत जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने उर्लेनी–खङ्गकोट आसपास निर्माण गरिनेछ, जुन सेती र कालीगण्डकी नदीको दोभानबाट करिब १० किलोमिटर माथि पर्छ । करिब २४४ मिटर अग्लो बाँध बनेपछि २९ किलोमिटर लामो जलाशय खनियाघाटसम्म फैलिनेछ ।
आयोजनाबाट १८३.४ मिटर नेट हेड र ४०५ घनमिटर प्रतिसेकेण्ड पानी बहाव उपयोग गर्दै वार्षिक करिब १,६४५.६५ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । विद्युत्गृह पर्वतको बिहादी गाउँपालिका–बर्राचौरमा रहनेछ, जहाँ चारवटा प्रान्सिस टर्बाइन र चार स्टिल पेनस्टकमार्फत ऊर्जा उत्पादन गरिनेछ ।
यो आयोजना कार्यान्वयन हुँदा पर्वत, बागलुङ, गुल्मी र स्याङ्जाका विभिन्न स्थानीय तहका वडाहरू प्रत्यक्ष प्रभावित हुनेछन्। जलजला, कुश्मा, फलेवास, बिहादी, बागलुङ नगरपालिका, जैमिनी, कालीगण्डकी र गल्याङ क्षेत्रका बासिन्दामा यसको असर पर्ने देखिएको छ ।
विद्युत् विकास विभागसँगको समन्वयमा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूको संयुक्त टोलीले सम्भाव्यता अध्ययन तथा वातावरणीय मूल्याङ्कन गरिरहेको छ ।
सडक पहुँचको हिसाबले आयोजना स्थल पृथ्वी राजमार्ग, पोखरा–बागलुङ सडक, कालीगण्डकी करिडोर लगायतका मुख्य मार्गहरूसँग जोडिएको हुँदा निर्माण तथा सञ्चालनमा सहजता आउने विश्वास गरिएको छ ।
ऊर्जा उत्पादन, जलाशय व्यवस्थापन र क्षेत्रीय विकासलाई एकसाथ अघि बढाउने लक्ष्यसहित यो आयोजना नेपालकै रणनीतिक जलविद्युत् परियोजनामध्ये एक बन्ने अपेक्षा गरिएको छ ।








