काठमाडाैँ । सरकारले ऊर्जा क्षेत्रको सुधारका लागि चारवटा विधेयककाे निर्माण प्रक्रिया अघि बढाएकाे छ । ऊर्जा क्षेत्रको दीर्घकालीन सुधार तथा संरचनात्मक सुदृढीकरणका लागि पुराना ऐन–कानुनलाई परिमार्जन गर्दै आधुनिक र समयसापेक्ष नीतिगत व्यवस्था ल्याउने उद्देश्यका साथ विधेयक निर्माण प्रक्रिया अघि बढाएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाअनुसार जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता, विद्युत् र सिँचाइ विकास तथा व्यवस्थापन सम्बन्धी विधेयकहरू तयार पार्ने काम भइरहेको छ । यी कानुनी संरचनाले ऊर्जा क्षेत्रको समग्र व्यवस्थापन प्रणाली, लगानी वातावरण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि सारेको छ । यही लक्ष्यअनुसार उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्दै जलविद्युत् तथा नवीकरणीय ऊर्जाको दायरा विस्तार गर्ने रणनीति बनाइएको मन्त्रालयले जनाएको छ ।
विशेषगरी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र सरोकारवालासँग छलफलपछि अन्तिम रूप दिइने चरणमा पुगेको छ ।








