काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरूको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । केन्द्रले यही माघ १३, १४ र १५ गते विभिन्न कार्यक्रम गरी ऊर्जा दिवस मनाउने तयारी गरेको हो ।
संयुक्त राष्ट्रसंघले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउँदै आइरहेको छ ।
दिवसका अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिचाँइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बृहत कार्यक्रमको तयारी गरिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुयाउँदै आएको पनि उनले जानकारी दिए ।
यसको साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायको रुपमा समेत कार्य गर्दै आएको उनको भनाइ थियो ।
केन्द्रले सबैमा स्वच्छ ऊर्जाको सर्वसुलभ पहुँच पुयाउने सरकारको नीतिलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही विद्युत पहुँच पुग्न बाँकी रहेका भौगोलिक क्षेत्र तथा घरधुरीमा पूर्ण विद्युतीकरणका लागि एकीकृत योजना तयार गरी सोही बमोजिम विद्युत विस्तार कार्य गरिरहेको छ भने खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तारको लागि विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलो लगायतका प्रविधिहरु प्रवर्द्धन गर्दै आएको केन्द्रले जानकारी दिएको छ ।
सरकारले हालै स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरुमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी २ वर्षभित्र शत प्रतिशत घरधुरीमा विद्युत पुर्याउने लगायतका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विभिन्न लक्ष्यहरू समेटिएको जानकारी गराइयो । सबैमा विद्युत पहुँच पुर्याउन तथा दिगो विकास लक्ष्यले लिएका नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू हासिल गर्ने सरकारको प्राथमिकतामा केन्द्रको योगदान रहँदै आएको जनाइएको छ ।
यसै सन्दर्भमा वैकल्पिक ऊर्जा विकास समितिको १०३ औं बैठकको निर्णय बमोजिम केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरूको सहयोगमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको बताइयो । केन्द्रले माघ १३, १४ र १५ गते (तदनुसार सन् २०२५ जनवरी २६, २७ र २८ तारिख) निम्नानुसारका कार्यक्रमहरु गर्न लागेको हो ।
सो अवसरमा ज्ञानमुलक सामाग्रीको उत्पादन, प्रकाशन तथा वितरणका कार्यक्रमहरु तय भएका छन् ।
प्हिलो दिन सरोकारवालाहरुसँगको अन्तक्रिया कार्यक्रम गरिनेछ । जसमा सरोकारवालाहरुको समस्या, चुनौति तथा अवसरहरु पर्नेछ । यसैगरी, दोस्रो दिन विकास साझेदारहरुसँगको बैंठक गरिनेछ । जसमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरोकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धका छलफल गर्नु रहेको छ । तेस्रो दिन उत्थानशील एव न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन गरिनेछ ।
तेस्रो दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने स्वच्छ ऊर्जा रुपान्तरणलाई तिव्रता दिनको लागि सरोकारवालाहरूबीच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तक्र्रिया एवं आवश्यक रणनीति तर्जुमाको लागि विभिन्न प्रस्तुतिहरु तथा छलफल हुनेछन् ।
सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी÷गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक÷प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरु, यस क्षेत्रका अभ्यासकर्ता, निजी क्षेत्र, सञ्चार जगत, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरू एउटै स्थलमा उपस्थित हुने अवसर जुटाउनेछ ।
कार्यक्रममा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३५० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।यसको लागि १० भन्दा बढी विभिन्न संस्थाहरुको सहयोग रहनेछ । सम्मेलनको प्रमुख उद्देश्यहरु तपसिल बमोजिम रहेका छन्ः
१) क्षेत्रगत आवश्यकता, अवसर र चुनौतिहरुको पहिचान
२) लगानीयोग्य आयोजनाहरुको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रुपान्तरणको लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर
३) नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविश्यको लगानी छनौटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासहरुको अनुभव आदान प्रदान
४) सम्भाव्य लगानीयोग्य आयोजनाहरु प्रस्तुत एवं लगानी अभिवृद्धिमा जोड
५) ज्ञानमुलक सामाग्रीको उत्पादन, प्रकाशन तथा वितरण
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन सत्रमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी प्रस्तुती एवं नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको मन्तव्य समेटिएको छ । दोस्रो चरणमा ऊर्जा रुपान्तरण सम्बन्धी विषयवस्तुमा आधारित पाँचवटा प्यानल सेसन संचालन गरिने छ । जसमा ऊर्जा रुपान्तरणको क्षेत्रगत अवस्था, अवसर तथा चुनौति, खुद शुन्य उत्सर्जन र उत्थानशील अर्थतन्त्रको लक्ष्य हासिलको लागि ऊर्जा रुपान्तरण, ऊर्जा रुपान्तरणको लागि लगानी तथा कार्बन वित्तः आन्तरिक र बाह्य लगानीको आवश्यकता, ऊर्जा रुपान्तरणको लागि नियामक ढाँचा, सुशासन र क्षमता विकास, न्यून कार्बनमा आधारित अर्थतन्त्र सहितको ऊर्जा रुपान्तरणको लागि भविश्यको मार्गचित्र आदि विषयहरु समेटिएको जनाइएको छ ।
सम्मेलनबाट ऊर्जा रुपान्तरणको लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रुपान्तरणको लागि लगानी आवश्यकता र जलवायु वित्तको लागि विभिन्न संयन्त्रहरुको पहिचान, लगानी अभिवृद्धि एव विकास सहकार्यमा थप मजबुत हुने अपेक्षा गरिएको छ ।
साथै, सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ र ‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८०’ को प्रभावकारी कार्यन्वयनका लागि समेत सहयोग पुग्नेछ ।