काठमाडौँ । ह्याप्पी इनर्जी प्रालिले संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नम्बर २ र ३ मा अघि बढाएको ४० मेगावाटको माथिल्लो संखुवा खोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुभारम्भ भएको छ । कम्पनीले सोमबार (जेठ २६ गते) शुभसाइत गरी निर्माण शुभारम्भ गरेकाे हाे ।
सुरुङ निर्माण सुभारम्भ कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङ र विशिष्ट अतिथिहरूमा पालिका उपाध्यक्ष देविता कुलुङ राई, पालिका वडा नम्बर २ को अध्यक्ष मोहन सम्सेर राई, पालिका वडा नम्बर ३ को अध्यक्ष प्रताव सिं तामाङ, पालिका प्रमुख प्रशासकिय अधिकृत भद्र बहादुर राई र नया श्रीनाथ गण मेजर प्रनिस आनन्द हाङ्ग कोमको उपस्थिती रहेकाे थियाे । यसैगरी, कम्पनीका सञ्चालकको तर्फबाट कम्पनीका कार्यकारी अध्यक्ष इन्द्रबहादुर विष्ट, सञ्चालकहरूमा पूर्णलाल श्रेष्ठ, डा.बद्री केसी र विनोदकुमार शर्माको उपस्थिती रहेको थियो । साथै, सुरुङ निर्माण ठेक्का पाउने देवकाेटा निर्माण सेवाकाे तर्फबाट राम प्रसाद देवकाेटा लगायत अन्य स्थानीय र जनप्रतिनिधिहरूकाे उपस्थितिमा सुरुङ निर्माण शुभारम्भ भएकाे छ ।
सोमबार सुरुङ निर्माणको शुभसाइत गरिएपनि निर्माणकाे काम भने अर्को सातादेखि मात्रै गर्ने कम्पनीका कार्यकारी अध्यक्ष बिष्टले बताए । उनका अनुसार सुरुङ निर्माणको ठेक्का देवकोटा निर्माण सेवाले पाएको छ । यसैगरी, विद्युतगृहको ठेक्का भने गौरा कन्स्ट्रक्सनले पाएको छ । आयोजनाको बाँध तथा विद्युतगृहको काम भने बर्खायामपछि मात्र सुरु हुने उनले जानकारी दिए ।
अहिले आयोजनाको साइटमा आर्मी क्याप्प निर्माण पूरा भइ आर्मी परिचालन भइसकेको छ । यसैगरी, कर्मचारी तथा कामदार बस्ने क्याप्पको पनि ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
आयोजनाको सम्पूर्ण संरचना सिलीचोङ गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्छ । समुन्द्री सतहबाट १३१८ मिटरदेखि १८३४ मिटरको उचाइमा अवस्थित आयोजनाको पहिचान वि.सं. २०७४ सालमा भएको थियो ।

विद्युत् विकास विभागबाट २०७५ असार ३२ गते सर्भे लाइसेन्स लिएर अध्ययन पूरा गरी २०८० असोज ३० गते विद्युत् उत्पादन अुनमतिपत्र प्राप्त भएको यस जलविद्युत् आयोजनामा प्रयोग गरिने जलस्रोत परिमाणको डिजाइन डिस्चार्ज ९.१८ घनमिटर प्रतिसेकेण्ड र ग्रस हेड ५१६ मिटर रहनेछ । यो आयोजनाको काम २०८५ जेठभित्र सम्पन्न गर्ने तालिका छ । निर्धारित तालिकाभन्दा ४ महिना अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको विष्टले जानकारी दिए ।
आयोजनाको मुख्य हेडवर्क्स संखुवाखोला र लुनसुनखोलाको संगमबाट करिब ७५० मिटर माथिल्लो तटमा अवस्थित छ । जहाँबाँध, ग्राभेल तथा बालुवा थिग्रयाउने पोखरी, सेटलिङ बेसिन, अन्डर स्लुइस, इन्टेक निर्माण हुनेछ ।

इन्टेकबाट पानीलाई ३ हजार ६५० मिटर लामो हेडरेस टनेल, २५५ मिटर सर्फेस पेनस्टक, २५८ मिटर भर्टिकल र ३५५ मिटर होराइजेन्टल साफ्ट मार्फत विद्युत्गृहमा पुर्याइनेछ । यही विद्युतगृहमा जडान हुने २ वटा पेल्टन टर्वाइन घुमाएर विद्युत् उत्पादन हुनेछ । यो आयोजनाबाट वार्षिक २४४ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
अहिले आयोजनाको पहुँचमार्ग र आवासगृह निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ । संखुवा खाेलामा निर्माण भइरहेकाे बेलिब्रिज पुलकाे काम पनि ९० प्रतिशत पुरा भएकाे छ । प्रवर्द्धक कम्पनीले निर्माण गरेको सडकबाट वडा नम्बर २ का बाला, खरिला, दाङखिला, बेतिनी, सिकीदिम, सोङलाहलगायत क्षेत्रका बासिन्दाहरु लाभान्वित भएका छन् ।








