नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाट बराबरको सौर्य आयोजना निर्माण गर्न बोलपत्र आह्वान गरेको छ । प्राधिकरण विद्युत् व्यापार विभागले राष्ट्रिय प्रतिस्पर्धामार्फत ग्रिड कनेक्टेड सौर्य विद्युत् परियोजना विकास गर्नका लागि बुधबार (चैत २१ गते) बोलपत्र आह्वान गरेको हो ।
प्राधिकरणले बढीमा १५० मेगावाट क्षमतासम्मका परियोजना निर्माण गर्न बोलपत्र आह्वान गरेको छ । इच्छुक तथा योग्य कम्पनीले एउटै वा विभिन्न परियोजना निर्माण गर्ने गरी बोलपत्र दर्ता गर्न पाउनेछन् । आवेदनकर्ताले १५ हजार रुपैयाँ आवेदन शुल्क र प्रतिमेगावाट १० लाख रुपैयाँ धरौटीसहित २०२४ मे १९ सम्ममा बोलपत्र आवेदन दर्ता गरिसक्नु पर्ने छ । यसरी प्रतिस्पर्धाबाट छनोट भई आयोजना विकास गर्ने विकासकर्तासँग प्राधिकरणले २५ वर्षसम्म विद्युत् खरिद गर्ने जनएको छ ।
बोलपत्रबाट छनोट भएका कम्पनीले १० मेगावाट वा सो भन्दा कम क्षमताका आयोजना छ भने प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएको मितिले १८ महिनाभित्र निर्माण पूरा गर्नुपर्ने छ । बाँकी १० मेगावाट भन्दा ठूलो क्षमताका आयोजनाको निर्माण पिपिए भएको मितिले २४ महिनाभित्र पूरा गरी सञ्चालनमा ल्याउनुपर्ने प्राधिकरणले जनाएको छ ।