काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लामोसाँघु–राकाथुम प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले १३२ केभी क्षमताको डबल सर्किट लाइन निर्माण लागेको हो ।
अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागले लाइन निर्माण अनुमति जारी अन्तिम तयारी गरिरहेको छ । यसका लागि विभागले ३५ दिने सूचना जारी गरेको छ । लाइन निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा ३५ दिन भित्र राय/सुझाव दिन आग्रह गरेको छ ।
लाइन सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. ७ मा प्रस्तावित लामोसाँघु सवस्टेसनदेखि सुनकोशी गाउँपालिका, लिसंखु पाखर गाउँपालिका, काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका, सुनापती गाउँपालिका हुँदै खाँडादेवी गाउँपालिकाको वडा नं. १ मा प्रस्तावित राकाथुम सवस्टेसनसम्म रहेको छ । जसको लम्बाई ३८.२६७ किलोमिटर रहेको छ ।
लाइनमा १२९ वटा टावरहरू निर्माण गरिने छन् । टावरको अधिकतम उचाई ४० मीटर सम्म रहने र टावरहरु बिचको औषत दुरी २९८.९७ मीटर हुनेछ । आयोजना निर्माणको लागि कूल ४०.०८ हेक्टर जमिन आवश्यक पर्ने छ, जस मध्य १२९ वटा टावरहरुका लागि स्थायी रूपमा ४.५८५ हेक्टर जग्गा आवश्यक पर्दछ । यस बाहेक विद्युत मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत २७.८७ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ ।
यो प्रसारण लाईनको निर्माण कार्य करिव २ वर्ष भित्र सम्पन्न गरिने लक्ष्य रहेको छ । लाइन पूरा भएपछि २३८ मेगावाट सम्मको विद्युत प्रवाह गर्न सकिनेछ ।








