पश्चिम बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्न ५ वर्षअघि निर्माण सुरु भएको १३२ केभी बुर्तिबाङ सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । याे सबस्टेसनले कपिलवस्तुको मोतिपुर–अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङलाई जाेड्नेछ ।
ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेसनको काम ८० प्रतिशत सम्पन्न भएको आयोजना’ प्रमुख मनोज चौधरीले बताए । याे सबस्टेसन अगामी असारमा परीक्षण गर्नेगरी निर्माण भइरहेको उनले बताए । उनले पौँदीअमराई सबस्टेसन पनि निर्माणकाे अन्तिम चरणमा पुगेकाे बताए । निर्माणाधीन गुल्मीको तम्घास सबस्टेसन पनि आगामी बैशाख १९ गते परीक्षण गर्ने गरी तयारी भइरहेकाे चाैधरीले बताए ।
‘सबस्टेसन बनाउने र १३२ केभी प्रसारण लाइनकाे तार तान्ने काम धमाधम भइरहेकाे छ,’ उनले भने, ‘असारसम्म कुनै प्राविधिक अवरोध नभए बुर्तिबाङ र पौँदीअमराई सबस्टेसन परीक्षण गर्ने योजना छ । निर्माण कम्पनीलाई पनि असारभित्रमा काम सम्पन्न गर्ने ठेक्का दिइएको हो । अब फिल्डको काम मात्रै बाँकी छ, पौँदीअमराई र बुर्तिबाङमा एकैपटक परीक्षण हुन्छ ।’
सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिए पनि पश्चिम बागलुङमा अझै विद्युत पहुँच पुगेकाे छैन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ ।
अहिलेसम्म निसीखोला र तमानखोला भेग केन्द्रीय लाइनबाट जोडिएका छैनन् तर प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका धेरै स्थानमा पोल गाड्ने र तार तान्ने काम गरिरहेको छ ।