काठमाडाैँ । सोलुखुम्बुमा २४.४१ मेगावाट क्षमताको ‘सुपर इन्खु खोला जलविद्युत् आयोजना’ निर्माण प्रक्रिया अघि बढाइएको छ । महाकुलुङ गाउँपालिका–१ तथा पासाङल्हामु गाउँपालिका–१ भएर बग्ने इन्खु खोलाको पानी प्रयोग गर्दै विद्युत् उत्पादन गर्ने उद्देश्यले दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आवश्यक उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दर्ता गरेको हो ।
विभागले परियाेजना निर्माण गर्दा उल्लेखनिय प्रतिकुल असर पर्ने भएमा लिखित राय प्रतिक्रिया माग गरेकाे छ । निर्माणका क्रममा वातावरणीय प्रभाव देखिएमा ३५ दिनभित्र विभागमा लिखित सुझाव पेश गर्न विद्युत् विकास विभागले सार्वजनिक सूचना मार्फत सरोकारवालाहरूसँग आग्रह गरेको छ ।
समुद्र सतहदेखि २,६६९ मिटर उचाइमा २९ मिटर लामो बाँध निर्माण गरिनेछ । बाँधको बायाँ किनारमा इन्टेक हुँदै ग्राभेल ट्र्याप पार गरेर ६० मिटर लम्बाइ र ७ मिटर चौडाइको दुई वे भएको पोखरीमा पानी संकलन गर्ने व्यवस्था रहनेछ ।
जम्मा भएकाे पानीलाइ १,६१७ मिटर मुख्य सुरुङ, २२.१२ मिटर सर्ज सफ्ट तथा ५९७ मिटर पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहसम्म पुर्याई विद्युत् उत्पादन गरिने छ । आयोजनाबाट वार्षिक १४३.०४ गिगावाट–घण्टा (GWh) विद्युत् प्राप्त हुने अनुमान गरिएको छ । उत्पादन विद्युत् १३२ केभी क्षमताको ५ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइनबाट माथिल्लो इन्खु खोला जलविद्युत् आयोजनाको स्विचयार्ड हुँदै नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जाेडिनेछ ।
आयोजना निर्माण कार्य सुरु भएकाे ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।








