काठमाडाैँ । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनामा देखिएको अवरोध एक महिनापछि हटेको छ । स्थानीयको आन्दोलनका कारण गत पुस २५ गतेदेखि बन्द रहेको आयोजना आजदेखि पुनः सञ्चालनमा आएको हो ।
धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजना अन्तर्गत पर्ने दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडक खण्डको दाङखोलामा मोटरेबल पुल निर्माण ढिलाइ भएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने दाङखोलामा ठेक्का सम्झौता भएको वर्षौँ बित्दा पनि पुल निर्माण सुरु नभएपछि स्थानीयले आयोजना निर्माण कार्य नै रोकिदिएका थिए ।
स्थानीयको मागअनुसार चालु आर्थिक वर्षभित्र मोटरेबल पुल निर्माण सुरु गर्ने सुनिश्चितता प्राप्त भएपछि राजनीतिक दल र स्थानीय अगुवासँगको छलफलपछि आन्दोलन फिर्ता लिने निर्णय भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । उनले अब जलविद्युत् आयोजना निर्माणलाई सहजीकरण गर्ने बताए ।
धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरी सकेसम्म चाँडो पुल निर्माण सुरु तथा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दाङ खोलामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार ४५७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । विसं २०७७ जेठ २० गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित १८ मिटर लामो मोटरेबल पुल निर्माणको तयारी भइरहेका बेला दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्रमा पर्ने देखिएपछि प्रस्तावित स्थानभन्दा करिब दुई सय मिटर माथि पुल सार्न प्रदेश सरकारसँग आग्रह गर्ने र आवश्यक परे आयोजनाले नै पुल निर्माण गर्ने सहमति भएको थियो ।
तर आयोजनाले समयमा काम गर्न नदिएको लगायतका कारण देखाउँदै निर्माण व्यवसायी अदालत पुगेपछि पुल निर्माण प्रक्रिया अघि बढ्न सकेन । यसै कारण दबाब सिर्जना गर्न स्थानीयले पुल निर्माण सुरु नहुँदासम्म जलविद्युत् आयोजना निर्माण रोक्ने निर्णय गरेका थिए ।
यसअघि विसं २०७५ मा धवलागिरि गाउँपालिकाले दाङखोलामा निर्माण गरेको अस्थायी मोटरेबल पुल जीर्ण भइसकेको छ । नयाँ पुल नबन्दा गुर्जा, लुलाङ, मुना, मुदी र ताकमका बासिन्दाले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।








