काठमाडाैँ । एपोलो हाइड्रो पावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो ।
कम्पनीले ४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।
त्यसैगरी सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीका लागि १८ हजार ८०० कित्ता सेयर छुट्याइएको छ । अब कम्पनीले बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ भने पूर्ण आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख १० गतेसम्म निष्काशन खुला रहनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।








