Friday, April 17, 2026
spot_img

हेटाैँडा सिमेन्टकाे बक्याैता ४० करोड, उत्पादन फेरि रोकिने जोखिम

spot_img

Share

spot_img

काठमाडाैँ । लामो समयदेखि आर्थिक संकट र अनियमित सञ्चालनको चपेटामा परेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनको प्रयास भइरहे पनि समस्या जस्ताको त्यस्तै रहेको छ । कच्चा पदार्थ अभाव, बक्यौता ऋण र व्यवस्थापन कमजोरीका कारण उद्योग फेरि बन्द हुने अवस्थामा पुगेको छ ।

सरकारले रुग्ण उद्योग पुनः सञ्चालन गर्ने नीति अघि सारेसँगै हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने माग उठ्न थालेको हो । यसै सन्दर्भमा सांसद प्रकाश गौतमले उद्योग पुनर्जीवनलाई प्राथमिकतामा राख्दै संघीय तथा बागमती प्रदेश सरकारसँग पहल गरिरहेको बताएका छन् ।

उनका अनुसार उद्योग सञ्चालनका लागि प्रधानमन्त्री र उद्योगमन्त्रीसँग छलफल भइसकेको छ भने बागमती प्रदेश सरकारबाट पनि सकारात्मक संकेत प्राप्त भएको छ । “राजनीतिक हस्तक्षेप, आन्तरिक भ्रष्टाचार नियन्त्रण र सक्षम व्यवस्थापन टिम गठन गर्न सके उद्योग पुनः चल्न सक्छ,” उनले बताए ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा उद्योग अत्यन्तै सीमित अवधिमा मात्रै सञ्चालन भएको छ । गत भदौ १९ देखि २४ गतेसम्म पाँच दिन सञ्चालन हुँदा करिब २,५०० टन क्लिङ्कर र ३० हजार बोरा सिमेन्ट उत्पादन भएको थियो ।

हालै पुनः क्लिङ्कर उत्पादन सुरु गरिएको भए पनि कच्चा पदार्थ अभावका कारण उत्पादन फेरि रोकिने अवस्थामा पुगेको निमित्त महाप्रबन्धक डा. शिवनारायण साहले जानकारी दिएका छन् । कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता नतिरेसम्म आपूर्ति सम्भव नभएकाले उत्पादन एक–दुई दिनमै ठप्प हुने जोखिम छ ।

उद्योग सञ्चालनका लागि दैनिक करिब १२० टन कोइला आवश्यक पर्ने भए पनि आपूर्ति नहुँदा उत्पादन निरन्तरता दिन कठिन भएको छ । उत्पादन बन्द भए पनि कर्मचारीको तलब, इन्धन तथा मर्मत खर्च भने निरन्तर बढ्दै गएको उद्योग प्रशासनले जनाएको छ ।

हाल उद्योगमा ३१८ जना कर्मचारी कार्यरत छन् । तर आर्थिक अभावका कारण अतिरिक्त समयको भुक्तानीसमेत गर्न नसकिएको अवस्था छ । यस्तै, नेपाल विद्युत् प्राधिकरण लाई करिब ३०–४० करोड रुपैयाँ बराबरको बक्यौता बाँकी रहेकाले विद्युत् आपूर्ति पनि जोखिममा छ ।

वि.सं. २०३३ मा स्थापना भई २०४३ सालदेखि उत्पादन सुरु गरेको उद्योगका उपकरणहरू अहिले पुराना भइसकेका छन् । प्राविधिकहरूका अनुसार वर्तमान अवस्थाका उपकरणले प्रभावकारी उत्पादन दिन सक्ने क्षमता गुमाइसकेको छ ।

समग्रमा, व्यवस्थापन सुधार, ऋण समाधान, कच्चा पदार्थ आपूर्ति र प्रविधि आधुनिकीकरण बिना उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउन चुनौतीपूर्ण देखिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img