काठमाडौँ । निजी क्षेत्रबाट निर्माण हुन लागेको ठूलो जलविद्युत् आयोजनामध्ये १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय सुनिश्चितता (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने आयोजनाका लागि कुल २५ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी संरचना तय गरिएको हो ।
आयोजना प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेन्टका अनुसार ग्लोबल आइएमई बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाले करिब १९ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । बाँकी ६ अर्ब ४० करोड रुपैयाँ संस्थापक तथा अन्य लगानीकर्ताबाट स्वपुँजी (इक्विटी) का रूपमा जुटाइनेछ ।
ऋण लगानी सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य तथा बैंकहरूको तर्फबाट ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्नेछन् । प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् ।

२५.५ घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको आयोजनाको हेड ७६२ मिटर रहनेछ । आयोजनाबाट वार्षिक ९८३.१३ गिगावाट आवर अर्थात् ९८ करोड ३१ लाख ३० हजार युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । कुल उत्पादनमध्ये ३०.८५ प्रतिशत विद्युत् सुख्खायाममा र ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले पहिलो ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि सुविधा पाउनेछ । कम्पनीका अनुसार सञ्चालनको पहिलो वर्षमै आयोजनाबाट करिब ५ अर्ब ८१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
आयोजनाअन्तर्गत नदीमा ५० मिटर लामो बाँध निर्माण गरिनेछ । ६ किलोमिटर लामो तथा ४.४४ मिटर व्यास भएको इन्भर्टेड ‘डी’ आकारको सुरुङमार्फत पानी विद्युत्गृहसम्म पुर्याइनेछ । उत्पादित विद्युत् ८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निर्माणाधीन मार्गेन सबस्टेसनमा जोडिनेछ ।
कम्पनीका अनुसार आयोजनाको हेडवर्क्स, विद्युत्गृह तथा सर्ज ट्यांक क्षेत्रसम्म पहुँच सडक निर्माण सम्पन्न भइसकेको छ । हाल आयोजनास्थलमा कार्यालय, कामदार तथा कर्मचारी आवास, सामग्री भण्डारण गृह, सैनिक क्याम्प, बंकर तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको छ ।
कम्पनीले आयोजनामा अनुभवी ऊर्जा लगानीकर्तासँगै स्थानीयवासीको समेत सहभागिता रहने जनाएको छ । भविष्यमा सर्वसाधारणलाई पनि सेयर लगानीको अवसर दिने तयारी रहेको कम्पनीको भनाइ छ ।








