Sunday, August 16, 2026
spot_img

दिगो ऊर्जा च्यालेन्ज फण्डमा आवेदन खुला, ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा प्रविधिलाई अनुदान

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गतको दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत नयाँ आयोजनाहरू सञ्चालनका लागि आवेदन आह्वान गरेको छ ।

देशभर स्वच्छ र आधुनिक ऊर्जाको पहुँच बढाउनुका साथै नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका परियोजनाहरूमा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आवेदन माग गरिएको हो ।

केन्द्रले यो कार्यक्रम मार्फत आयोजनाहरूको प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र दिगो सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । केन्द्रले विशेष गरी तीन वटा क्षेत्रहरूमा काम गर्न इच्छुक निजी क्षेत्रका संस्थाहरूबाट प्रस्ताव माग गरेको छ ।

जसमा फ्युल स्विचिङ (Fuel Switching), एग्रोफोटोभोल्टेक (Agrophotovoltaics), सौर्य तापीय प्रणाली (Solar Thermal Systems) रहेका छन् । फ्युल स्विचिङ गर्न इच्छुक खाद्य उद्योग, होटल व्यवसायी र ऊर्जा प्रदायक कम्पनीहरू, कृषि कार्यसँगै सौर्य ऊर्जा प्रणाली जडान गर्न चाहने कृषि फार्म, सहकारी तथा ऊर्जा प्रदायक कम्पनीहरू र सौर्य तापीय प्रणाली जडान गर्न इच्छुक पर्यटकीय व्यवसायी, साना तथा मझौला उद्योग र ऊर्जा प्रदायक कम्पनीहरूले यसमा आवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।

इच्छुक आवेदकहरूले २०८३ भदौ ८ गतेभित्र केन्द्रको तोकिएको वेबसाइट मार्फत अनलाइन आवेदन बुझाउनुपर्नेछ । प्राप्त आवेदनहरू मध्ये महिला, दलित, पिछडिएका वर्ग र जनजातिले नेतृत्व गरेका संस्थाहरूलाई प्राथमिकता दिइनेछ ।

दिगो ऊर्जा च्यालेन्ज फण्डले नेपालमा निजी क्षेत्रको सहभागितामा नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । वित्तीय रूपमा पूर्ण रूपमा सक्षम नदेखिएका तर दीर्घकालीन सम्भावना बोकेका स्वच्छ ऊर्जा आयोजनाहरूलाई वित्तीय खाडल पूरकता सहयोग (Viability Gap Funding) प्रदान गरी सञ्चालनमा ल्याउनु यसको मुख्य ध्येय हो । यो कोषले अनुदान र प्राविधिक सहयोग मात्र नभई बैंकहरूसँगको सहकार्यमा ऋण जोखिम न्यूनीकरण गर्न ग्यारेन्टी सुविधाहरू पनि उपलब्ध गराउँछ ।

आवेदनहरूलाई आयोजनाको प्रभावकारिता, प्राविधिक पक्ष र उपलब्ध बजेटका आधारमा मूल्याङ्कन गरेर छनोट गरिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img