काठमाडाैँ । प्रतिकूल मौसम र अविरल वर्षाका कारण बाढीको बहाव बढ्ने जोखिमका बीच ६० मेगावाटकाे त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य रातभर निरन्तर जारी राखिएको छ । खराब मौसम र बाढीका कारण आज बिहान केही समय रोकिएको उद्धार कार्य पुनः सञ्चालनमा आएको छ ।
उद्धार टोलीले हालसम्म करिब ८ मिटर ड्रिलिङ गरी सुरुङको ‘क्राउन’ अर्थात् माथिल्लो भागसम्म पुग्न सफल भएको जनाएको छ । सुरुङभित्र एयर कम्प्रेसरमार्फत अक्सिजन पठाइसकिएको छ ।
ड्रिलमार्फत सुरुङभित्र रहेका व्यक्तिसँग सम्पर्क गर्ने प्रयास गरिए पनि हालसम्म भित्रबाट कुनै जवाफ प्राप्त हुन सकेको छैन । उद्धार टोलीले सुरुङभित्र प्रकाश तथा ध्वनि संकेत पठाएर समेत सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको छ ।
यस्तै, सुरुङको वास्तविक अवस्था पत्ता लगाउन एक्स्काभेटरमार्फत खन्ने काम पनि जारी छ । थप ड्रिलिङ तथा आवश्यक प्रविधि र उपकरणको प्रयोग गर्दै उद्धार कार्यलाई तीव्रता दिइएको छ ।
निरन्तर उद्धार कार्यका लागि आवश्यक थप इन्धन, मेसिनरी, उपकरण तथा जनशक्ति आज बिहानै घटनास्थलमा परिचालन गरिएको छ । जोखिमपूर्ण भौगोलिक अवस्था, प्रतिकूल मौसम र बढ्दो बाढीको जोखिमका बाबजुद उद्धार टोलीले अहोरात्र खटिएर सुरुङभित्र रहेका व्यक्तिको उद्धारका लागि प्रयास जारी राखेको छ ।











