Friday, September 4, 2026
spot_img

भोटेकोशी बाढीपछि राहतसँगै विद्युत् आपूर्तिमा जुट्यो वैकल्पिक ऊर्जा केन्द्र

spot_img

Share

spot_img

काठमाडाैँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न कार्यक्रम अघि बढाएको छ । बाढीबाट ऊर्जा तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेपछि केन्द्रले नेपाल विद्युत् प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा वैकल्पिक ऊर्जा प्रणालीमार्फत तत्कालीन विद्युत् तथा ऊर्जा आपूर्ति गर्न थालेको हो ।

केन्द्रका अनुसार बाढी प्रभावित परिवारका लागि २० वाट पिक क्षमताका ५०० सेट घरेलु सौर्य विद्युत् प्रणाली, २ किलोवाट पिक क्षमताका ५० सेट संस्थागत सौर्य विद्युत् प्रणाली तथा २ हजार सेट सुधारिएको फलामे चुलो खरिद प्रक्रिया अघि बढाइएको छ । खरिद गरिएका ५०० सेट घरेलु सौर्य प्रणालीमध्ये सबै सेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनाको संयुक्त राहत तथा उद्धार टोलीलाई हस्तान्तरण गरिएको छ ।

यस्तै, अत्यावश्यक विद्युत् सेवा सुचारु गर्न रसुवाको उत्तरगया गाउँपालिकालाई २ किलोवाट पिक क्षमताका तीन सेट संस्थागत सौर्य विद्युत् प्रणाली हस्तान्तरण गरिएको छ । यस्ता प्रणाली विद्यालय, स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, पालिका तथा वडा कार्यालय र होल्डिङ सेन्टरलगायतका स्थानमा तत्कालीन विद्युत् सेवा उपलब्ध गराउन प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ ।

केन्द्रको समन्वयमा सुर्योदय ऊर्जा प्रालिले उपलब्ध गराएको ३.३६ किलोवाट पिक क्षमताको संस्थागत सौर्य विद्युत् प्रणाली त्रिशूली अस्पताल, नुवाकोटमा जडान गरी सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीले बाढी प्रभावित बिरामीको उपचार तथा अस्पतालका अत्यावश्यक सेवा सञ्चालनमा सहयोग पुर्याएको केन्द्रको भनाइ छ ।

यसैगरी, केन्द्रले खरिद गरेका सात सेट तथा विभिन्न संस्थाबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राप्त तीन सेट गरी १० सेट संस्थागत सौर्य विद्युत् प्रणाली बाढी प्रभावित क्षेत्रमा पठाइएको छ । तीमध्ये नौ सेट रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका वडा नं. १ र २, नुवाकोटको विदुर नगरपालिकाका वडा नं. १० र ११ तथा बेलकोटगढी नगरपालिका–८ मा वितरणका लागि पठाइएको छ । धादिङको गल्छी गाउँपालिका–६ का लागि एक सेट बैरेनीस्थित गाउँ कार्यपालिकाको कार्यालयमा पठाइएको छ ।

केन्द्रले खरिद गरेका २० वाट पिक क्षमताका ५०० सेट सौर्य विद्युत् प्रणाली रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पठाइएको छ । नेपाल सौर्य विद्युत् उत्पादक संघ (SEMAN) बाट प्राप्त थप २० वाट पिक क्षमताका १०५ सेट सौर्य प्रणाली पनि नुवाकोटको विदुर पठाइएको केन्द्रले जनाएको छ ।

बाढी प्रभावित परिवारका लागि २ हजार सेट सुधारिएको फलामे पोर्टेबल चुलो खरिद गरिएको छ । साथै, Husk Power Pvt. Ltd. ले उपलब्ध गराउने १० सेट संस्थागत फलामे चुलो वितरणका लागि प्रभावित जिल्लाका स्थानीय तहबाट माग संकलन भइरहेको छ । Himalayan Cook Stove ले पनि ५० थान पोर्टेबल चुलो उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

त्यस्तै, Solar Power Producers’ Association, Nepal (SOPPAN) ले बाढी प्रभावित घरपरिवारका लागि घरेलु सौर्य विद्युत् प्रणाली उपलब्ध गराउने प्रस्ताव गरेको छ। उक्त प्रस्तावबारे छलफल भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रले दोस्रो चरणमा थप ४० सेट संस्थागत सौर्य विद्युत् प्रणाली खरिद गर्न प्रक्रिया अघि बढाएको छ । त्यसमध्ये २० सेट प्रणाली जडान गर्ने स्थान छनोटको निर्णय प्रक्रियामा रहेको छ ।

बाढीबाट क्षति भएका ऊर्जा पूर्वाधारको क्षतिको विवरण तयार गर्ने (RDNA) कार्यमा पनि केन्द्र सहभागी भएको छ । मन्त्रालयको संयोजकत्वमा गठित समितिमा केन्द्रका नायब कार्यकारी निर्देशकले प्रतिनिधित्व गर्दै केन्द्रको सहयोगमा निर्माण तथा जडान भएका नवीकरणीय ऊर्जा आयोजना तथा प्रविधिको प्रारम्भिक विवरण तयार गरी मन्त्रालयसँग समन्वय भइरहेको जनाइएको छ ।

यसैबीच, राहत सामग्री वितरणको स्थलगत समन्वयका लागि केन्द्रले प्राविधिक अधिकृत सरोजबहादुर कार्कीलाई नुवाकोटको विदुरमा खटाएको छ । बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारको स्थलगत समन्वयमा केन्द्रका कार्यकारी निर्देशकसहितको टोलीसमेत सहभागी भएको केन्द्रले जनाएको छ ।

केन्द्रले बाढी प्रभावित समुदायका लागि ‘Emergency Solar Lighting and Communication Relief Initiative for Flood-Affected Communities’ नामक आपत्कालीन सौर्य विद्युत् तथा सञ्चार राहतसम्बन्धी प्रस्ताव तयार गरी मन्त्रालयमा पेश गरेको छ। उक्त प्रस्तावअनुसार सहयोग जुटाउन विभिन्न विकास साझेदारसँग मन्त्रालयमार्फत समन्वय भइरहेको छ ।

केन्द्रका कार्यकारी निर्देशकको अध्यक्षतामा बसेको बैठकले नेपाल सौर्य विद्युत् उत्पादक संघले सौर्य ऊर्जा क्षेत्रमा कार्यरत सम्पूर्ण संघसंस्थासँग समन्वय गरी नेपालमा उपलब्ध सौर्य ऊर्जा प्रणालीका विभिन्न प्रविधि तथा प्राविधिक जनशक्तिको विस्तृत विवरण र तथ्यांक केन्द्रलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img