काठमाडाैँ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवागढी जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन भएका ९३ जनाको खोजी तथा उद्धार कार्य सुरु गरिएको छ । नेपाली सेना, आयोजनाका उपकरण तथा प्राविधिकसहितको उद्धार टोलीले आयोजनाको विद्युत्गृह पुग्ने पहुँच सुरुङबाट खोजी कार्य अघि बढाएको हो ।
बाढीका कारण पहुँच सुरुङको प्रवेशद्वार आंशिक रूपमा पुरिएको छ । उद्धार टोलीले अवरोध पन्छाउँदै सुरुङभित्र करिब ४० मिटर प्रवेश गरिसकेको र सुरुङ सफा गर्दै क्रमशः भित्रतर्फ अघि बढ्ने रणनीति बनाइएको आयोजनाले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रो पावर कम्पनीका ४९ जना कर्मचारी, दुई जना ज्यालादारी कर्मचारी तथा आयोजनाको निर्माणमा संलग्न विभिन्न कम्पनीका कामदार रहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सिडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना पनि बाढीपछि सम्पर्कविहीन छन् ।
बाढीपछि आयोजनाको भूमिगत डिसेन्डरमा ६ जना फसेका थिए । तीमध्ये चार जना दुई दिनसम्मको प्रयासपछि आफैँ बाहिर निस्कन सफल भएका थिए । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो ।
यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । आयोजनास्थलमा भएको क्षति र सुरुङमा जमेको माटो तथा अन्य अवरोधका कारण सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे तत्काल यकिन गर्न कठिन भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली परिचालन गरी आयोजनास्थलको रेकी, खोज तथा उद्धार कार्य जारी राखिएको छ। सुरक्षा निकाय तथा प्राविधिक टोलीले सम्भावित स्थानहरूमा खोजीलाई निरन्तरता दिइरहेका छन् ।











