हामी नदीबाट बिजुली निकाल्दैछौँ, पहाडभित्र सुरुङ खन्दैछौँ । हामी बिजुली निकाल्न पहाडभित्र पस्यौँ, तर पहाडले नै एउटा प्रश्न सोध्यो-“तिमीले मलाई कति बुझेका छौ?” पछिल्लो विनाशकारी बाढीले फेरि सम्झाएको छ-प्रकृतिसँग प्रतिस्पर्धा गरेर होइन, प्रकृतिलाई बुझेर मात्र दिगो विकास सम्भव छ ।

नेपालको हाइड्रो पावर यात्रा केवल नदीको पानीलाई बिजुलीमा बदल्ने यात्रा होइन । यो पहाडसँग संघर्ष गर्ने, नदीसँग सहकार्य गर्ने र हजारौँ मानिसको पसिनाले देशको भविष्य निर्माण गर्ने यात्रा हो। यस यात्रामा काम गर्ने हाम्रो जीवन भने धेरै फरक छ । घरपरिवारबाट टाढा, दुर्गम पहाडको बीचमा, कहिले वर्षासँग जुध्दै, कहिले पहिरोको जोखिमबीच र कहिले सुरुङको अँध्यारोभित्र—हामी आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छौँ ।

बिहान सुरुङभित्र पस्दा अगाडि अँध्यारो हुन्छ । हातमा भूवैज्ञानिक हथौडा हुन्छ, आँखामा चट्टान र दिमागमा एउटै प्रश्न— “यो पहाडले हामीलाई के भनिरहेको छ?” चट्टानको एउटा चिरो, पानीको सानो चुहावट वा पहाडको एउटा सानो चिरो पनि कहिलेकाहीँ ठूलो जोखिमको संकेत हुन सक्छ। त्यसैले हामी चट्टान पढ्छौँ । किनकि चट्टानभित्र भविष्यको जोखिम लुकेको हुन सक्छ । तर प्रकृति सधैँ हाम्रो अनुमानअनुसार चल्दैन। पछिल्लो विनाशकारी बाढीले फेरि यही कुरा सम्झाएको छ।

नदी एकाएक उर्लिँदा सडक, पुल, प्रसारण लाइन र हाइड्रो पावरका संरचना मात्र जोखिममा पर्दैनन्—त्यहाँ दिनरात काम गर्ने मानिसको जीवन पनि जोखिममा पर्छ । त्यसैले अब हाइड्रो पावरको सफलता केवल “कति मेगावाट बिजुली उत्पादन भयो?” भन्ने प्रश्नले मात्र मापन गर्नु हुँदैन। बरु यो सँगै सोधिनुपर्छ -“त्यो उज्यालो उत्पादन गर्ने मानिसहरू कति सुरक्षित छन्?” हाइड्रो पावरमा भूगर्भविद्को काम चट्टानको प्रकार पहिचान गरेर रिपोर्ट लेख्नुमा मात्र सीमित छैन । पहाडको बनोट, चट्टानको अवस्था, पानी, पहिरो र सम्भावित भू–जोखिम बुझेर सुरक्षित निर्माणका लागि मार्गदर्शन गर्नु पनि हाम्रो जिम्मेवारी हो । तर एउटा सत्य स्वीकार गर्नुपर्छ—भूगर्भविद्ले प्रकृति रोक्न सक्दैन । इन्जिनियरले बाढी रोक्न सक्दैन । लगानिकर्ताले पहाडको व्यवहार नियन्त्रण गर्न सक्दैन । हामीले गर्न सक्ने भनेको जोखिम बुझ्नु, समयमै चेतावनी दिनु, तयारी गर्नु र क्षति कम गर्नु हो । अबको हाइड्रो पावर बिकासमा यही सोच आवश्यक छ ।

अत्याधिक बाढि, पहिरो, लेदोको बहाव र बदलिँदो मौसमलाई ध्यानमा राखेर आयोजना योजना बनाउनुपर्छ । भूवैज्ञानिक अनुगमन, पुर्वसुचना प्रणाली, आपतकालीन निकास र कामदारको सुरक्षालाई ‘अतिरिक्त खर्च’ होइन, आयोजनाकै अनिवार्य हिस्सा मान्नुपर्छ । किनकि— सडक बग्यो भने फेरि बनाउन सकिन्छ । संरचना भत्कियो भने फेरि उठाउन सकिन्छ । मेसिन बिग्रियो भने फेरि किन्न सकिन्छ । तर गुमेको जीवन फर्काउन सकिँदैन । हामी देशलाई उज्यालो बनाउन पहाडभित्र पसिरहेका छौँ । त्यसैले त्यो उज्यालोको यात्रामा काम गर्ने मानिसको जीवन अँध्यारोमा हराउनु हुँदैन ।

हरेक प्राकृतिक विपत्ति पूर्वानुमान गर्न सकिँदैन । त्यसैले हाम्रो लक्ष्य प्रकृतिलाई रोक्नु होइन, प्रकृतिले ल्याउन सक्ने सबैभन्दा खराब अवस्थाका लागि तयार हुनु हो । हाइड्रो पावरमा काम गर्ने हामीमध्ये धेरैको घर परिवारबाट टाढा छ। कसैको श्रीमती घरमा कुरिरहेकी हुन्छिन्, कसैका छोराछोरीले “बुबा कहिले घर आउने?” भनेर सोधिरहेका हुन्छन्, कसैका आमाबुबा छोराको फोनको प्रतीक्षामा हुन्छन् । तर हामी भने पहाडको बीचमा, सुरुङको अँध्यारोमा, नदीको छेउमा र कहिलेकाहीँ जोखिमको ठीक अगाडि उभिएर काम गरिरहेका हुन्छौँ । हामी देशको उज्यालोका लागि काम गर्छौँ, तर हाम्रो आफ्नै जीवन कहिलेकाहीँ अँध्यारोसँग लडिरहेको हुन्छ ।

पछिल्लो बाढीले हामीलाई एउटा गम्भीर प्रश्न छोडेको छ— “हामीले नदीको ऊर्जा त बुझ्यौँ, तर नदीको स्वभाव कति बुझ्यौँ?” अब समय आएको छ— पहाडलाई केवल काट्ने मात्र होइन, बुझ्न पनि जरुरि छ, नदीलाई केवल उपयोग गर्ने होइन, सम्मान गर्ने र विकासलाई केवल अगाडि बढाउने होइन, सुरक्षित बनाउन जरुरी छ । किनकि अन्ततः— प्रकृतिलाई जितेर होइन, प्रकृतिलाई बुझेर मात्र दिगो उज्यालो सम्भव छ।











