काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्बाट प्रभावित तथा उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिएका आफ्ना कर्मचारीलाई लक्षित गरी आयोजना गरेको ‘पोस्ट–डिजास्टर ट्रमा रिलिफ एन्ड स्ट्रेस म्यानेजमेन्ट’ सम्बन्धी चारदिने आवासीय तालिम सम्पन्न भएको छ ।
प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गतको तालिम व्यवस्थापन विभागको आयोजनामा सञ्चालन भएको तालिम असोज १३ गतेदेखि १६ गतेसम्म भएको हो । विपद्का कारण उत्पन्न मानसिक तनाव, आघात तथा मनोसामाजिक असरको व्यवस्थापन गर्दै कर्मचारीको मानसिक स्वास्थ्य र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।

तालिममा भोटेकोशी–त्रिशूली विपद्बाट उद्धार गरिएका तथा उद्धार, विद्युत् प्रणाली पुनःस्थापना र क्षतिग्रस्त संरचनाको व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटिएका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिमका क्रममा विपद्पछिको मानसिक आघातबाट बाहिर निस्कने उपाय, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन कायम गर्ने अभ्यास तथा विपद्पछि कार्यस्थलमा प्रभावकारी रूपमा फर्किन आवश्यक मनोसामाजिक पक्षबारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न आर्ट अफ लिभिङ नेपालले सहकार्य तथा सहजीकरण गरेको थियो । विपद्को कठिन परिस्थितिबाट गुज्रिएका कर्मचारीलाई मानसिक रूपमा सहज बनाउन, तनाव न्यूनीकरण गर्न तथा आत्मबल अभिवृद्धि गर्न तालिम प्रभावकारी रहेको सहभागीहरूले बताएका छन् ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्का कारण प्राधिकरणका विभिन्न आयोजना तथा संरचनामा क्षति पुगेपछि उद्धार, विद्युत् सेवा पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापनमा कर्मचारीहरू लामो समयसम्म प्रत्यक्ष रूपमा खटिएका थिए । त्यस्ता कर्मचारीमा देखिन सक्ने मानसिक तनाव, डर तथा आघातजन्य असरलाई सम्बोधन गर्न प्राधिकरणले भौतिक पुनःस्थापनासँगै कर्मचारीको मानसिक तथा मनोसामाजिक स्वास्थ्यलाई समेत प्राथमिकता दिएको हो ।

तालिम व्यवस्थापन विभागले आयोजना गरेको उक्त कार्यक्रमले विपद्पछिको पुनःस्थापना प्रक्रियामा कर्मचारीको मानसिक स्वास्थ्य र कल्याणलाई संस्थागत रूपमा सम्बोधन गर्ने प्राधिकरणको प्रयासलाई समेत उजागर गरेको छ ।











