काठमाडाैँ । नेपालमा विद्युतीय तथा विद्युतीय सामग्रीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला त्यसबाट उत्पन्न हुने ई–वेस्टको सुरक्षित व्यवस्थापन चुनौती बन्दै गएको छ । यसको दीर्घकालीन समाधानका लागि सरकारदेखि निजी क्षेत्र र उपभोक्तासम्मका सरोकारवालाबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए ।
‘ग्रीन डिजिटल नेपाल–ई–वेस्ट संवाद २०२६’ को तयारीका सन्दर्भमा आयोजित छलफलमा कार्यकारी निर्देशक श्रेष्ठले विद्युतीय सामग्रीको बढ्दो प्रयोगसँगै ई–वेस्ट व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
उनका अनुसार ई–वेस्ट व्यवस्थापनसम्बन्धी संवादले यस विषयमा आम नागरिकको चेतना अभिवृद्धि गर्नुका साथै प्रभावकारी नीति तथा व्यवस्थापन प्रणाली निर्माणका लागि साझा धारणा बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
छलफलमा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष गुणराज ढकालसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । सहभागीहरूले नेपालमा विद्युतीय सामग्रीको प्रयोगसँगै ई–वेस्टको मात्रा बढ्दै गएकाले यसको सुरक्षित व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, व्यवसायी, उपभोक्ता तथा अन्य सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।
ई–वेस्ट व्यवस्थापनलाई नीतिगत र व्यावहारिक दुवै पक्षबाट सम्बोधन गर्ने उद्देश्यले ‘ग्रीन डिजिटल नेपाल–ई–वेस्ट संवाद २०२६’ आगामी १४ अक्टोबर २०२६ मा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुँदैछ ।
‘Responsible Technology for a Sustainable Future’ भन्ने नाराका साथ आयोजना हुने संवादमा ई–वेस्ट व्यवस्थापनका नीति तथा नियमन, उद्योग, प्रविधि, विद्युतीय सवारी, वित्त र सर्कुलर इकोनमीलगायत विषयमा सरोकारवालाबीच छलफल हुने आयोजकले जनाएको छ ।











