काठमाडाैँ । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्प बगाएको छ। बाढीले क्याम्पसँगै केही उपकरणसमेत बगाएको प्रारम्भिक विवरण छ ।
अर्धजलाशययुक्त उक्त जलविद्युत् आयोजना निर्माणका लागि करिब ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुलसमेत बगाएको छ ।
आइतबार बिहान चुमनुब्री गाउँपालिकास्थित उङ्गेल खोलाबाट आएको बाढीसँगै स्यार खोलामा पहिरो गएको थियो । स्यार खोलामा पहिरोका कारण पानी थुनिएर एक्कासि बाढी आएको र उक्त बाढी बूढीगण्डकी नदीमा मिसिएको प्रारम्भिक विवरण छ ।











