काठमाडाैँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई दिगो र वातावरणमैत्री बनाउँदै फोहोरबाट स्वच्छ ऊर्जा उत्पादन गर्ने उद्देश्यले टेकु ट्रान्सफर स्टेसनमा रहेको बायोमिथेनेसन प्लान्टको परीक्षण सञ्चालन तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
ऊर्जा उत्पादनका लागि फोहोरको उपयोग गर्ने पहललाई व्यवहारमा उतार्ने उद्देश्यले मन्त्रालयको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) र काठमाडौं महानगरपालिकाको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
यसअघि मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयरसँग भएको छलफलका क्रममा फोहोरबाट ऊर्जा उत्पादन गर्ने विषयमा भएको सहमति र चासोलाई कार्यान्वयनमा लैजाने क्रममा प्लान्टको परीक्षण सञ्चालन गरिएको जनाइएको छ ।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाडौं जलवायु कार्य सप्ताह, २०८३ अन्तर्गत चौथो दिनको ‘Energy System Day’ को अवसरमा सम्पन्न कार्यक्रमले फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा उत्पादन तथा वातावरण संरक्षणलाई एकीकृत रूपमा अघि बढाउने सम्भावनालाई थप उजागर गरेको छ ।
फोहोरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई ऊर्जा उत्पादनको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न सकिने यस पहलले देखाएको छ । आधुनिक प्रविधिको प्रयोग र संघीय तथा स्थानीय निकायबीचको सहकार्यबाट काठमाडौंको बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने अपेक्षा गरिएको छ ।
यस्ता नवीन पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विस्तार गर्न सकेमा सहरी फोहोर व्यवस्थापनमा सुधार हुनुका साथै स्वच्छ ऊर्जा उत्पादन र वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।











