Sunday, May 24, 2026
spot_img

ग्यास थन्क्याएर गुइँठातिर फर्किँदै तराईका गाउँ, सस्तो इन्धनतर्फ पुनः आकर्षण

spot_img

Share

spot_img

काठमाडाैँ । रौतहट जिल्लाका ग्रामीण भेगमा पछिल्लो समय परम्परागत इन्धन ‘गुइँठा’ (गोबरबाट बनाइने इन्धन) को प्रयोग फेरि बढ्न थालेको छ । ग्यास अभाव, बढ्दो मूल्य र दाउराको कमीका कारण स्थानीय बासिन्दा पुनः गुइँठालाई भरपर्दो विकल्पका रूपमा अपनाउन थालेका हुन् ।

ग्रामीण क्षेत्रमा विशेषगरी विपन्न, दलित तथा कमजोर आर्थिक अवस्था भएका परिवारले परम्परागत चुलोमा गुइँठा प्रयोग गर्दै आएका छन् । स्थानीयका अनुसार महँगो ग्यास किन्न नसक्ने, ल्याउन पनि टाढा जानुपर्ने र दाउरा सहज उपलब्ध नहुने अवस्थाले गुइँठा नै दैनिक जीवनको मुख्य इन्धन बनेको छ ।

बृन्दावन नगरपालिकाका स्थानीय अदित्यकुमार रजक भन्छन्, “ग्यास महँगो छ, दाउरा पाइँदैन, त्यसैले गाईभैँसीको गोबरबाट गुइँठा बनाएर खाना पकाउने गरेका छौँ ।”

त्यस्तै, सोही क्षेत्रका प्रमोद यादवका अनुसार गुइँठाबाट खाना छिटो पाक्ने र धुँवा पनि अपेक्षाकृत कम निस्कने भएकाले यसको प्रयोग बढ्दो क्रममा छ । गोबरमा भुस, पराल र मकैको ठठेरो मिसाएर सुकाएर गुइँठा तयार पारिन्छ ।

वन क्षेत्र टाढिँदै जानु, दाउराको अभाव र इन्धन संकटले गुइँठा पुनः लोकप्रिय बन्दै गएको स्थानीयको भनाइ छ । केही स्थानमा गुइँठाभित्र सानो काठ राखेर ‘गुइँठा दाउरा’ बनाउने प्रचलनसमेत बढ्दै गएको छ, जसले बल्ने क्षमता बढाउँछ ।

गढीमाई नगरपालिकाका अशोक यादवका अनुसार “गुइँठा अहिले सस्तो, सजिलो र घरमै उत्पादन गर्न सकिने इन्धन भएकाले धेरै परिवारको पहिलो रोजाइ बनेको छ ।”

यद्यपि, स्थानीय तहहरूले धुवाँमुक्त गाउँ बनाउने लक्ष्यसहित ग्यास चुलो वितरण गरेका थिए । मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, गुजरा नगरपालिका लगायतका स्थानीय तहले ग्याससहित चुलो वितरण गरे पनि ती चुलो धेरै घरमा थन्किएको अवस्था छ ।

यसैबीच, चन्द्रपुर नगरपालिकाले वैकल्पिक उपायस्वरूप विद्युतीय चुलो वितरण अभियान सुरु गरेको छ । नगरप्रमुख सञ्जयकुमार काफ्लेका अनुसार नगरका १० वटै वडामा प्रतिवडा २०० का दरले करिब दुई हजार विद्युतीय चुलो वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

ऊर्जा विज्ञहरूका अनुसार गुइँठा केवल परम्परागत इन्धन मात्र नभई सही व्यवस्थापन र प्रवर्द्धन गर्न सके दिगो वैकल्पिक ऊर्जाका रूपमा विकास हुन सक्छ । तर, दीर्घकालीन समाधानका लागि स्वच्छ र आधुनिक ऊर्जा पहुँच विस्तारमा सरकारको स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img