काठमाडाैँ । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ ।
आयोजनाका प्रमुख उत्तम पौडेलका अनुसार बगरदेखि बाँध निर्माणस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग डाइभर्सनमार्फत तयार गरिएको छ । साथै, विद्युत्गृहबाट निस्कने पानी व्यवस्थापनका लागि एक हजार १३० मिटर लामो टेलरेस सुरुङ निर्माण कार्य पनि सुरु गरिएको छ । सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको तयारी गरिरहेको छ ।
म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट पानीलाई ७५ मिटर लामो र ११.९ मिटर अग्लो डिसेन्डरमा सङ्कलन गरिनेछ । त्यसपछि ७१० मिटर पाइपलाइन हुँदै ३,६०० मिटर सुरुङमार्फत पुनः ७५० मिटर पाइपलाइनबाट ६०७ मिटर उचाइबाट भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने योजना छ ।
‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनक्लाइन टनेल र ७५७ मिटर पेनस्टक पाइप जडान गरिनेछ । विद्युत्गृहमा तीन वटा टर्वाइन युनिट रहनेछन् ।
आयोजनाबाट सुक्खायाममा ११७.८२ गिगावाट घण्टा र बर्खायाममा २६४.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत् बगरदेखि १६.५ किलोमिटर टाढा रहेको डाँडाखेत सबस्टेसनमार्फत १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा जोडिनेछ ।
करिब १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट विसं २०८४ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । सिभिल ठेकेदार गत पुसदेखि परिचालनमा आइसकेको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार छनोट प्रक्रियामा रहेका छन् ।
विस्फोटक पदार्थको सुरक्षाका लागि भैँसीखर्क क्षेत्रमा केही दिनभित्र नेपाली सेनाको क्याम्प स्थापना गरिने तयारी गरिएको छ । त्यसपछि मुख्य सुरुङ खन्ने कार्य तीव्र पारिने आयोजना व्यवस्थापनले जनाएको छ ।








