काठमाडाैँ । एनआईसी एशिया बैंकले जलविद्युत् क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने क्रममा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत् आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
यस सम्बन्धमा बैंक र प्रवर्द्धक रसुवा हाइड्रो पावर लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ । आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र कम्पनीका अध्यक्ष दीपक थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकका अनुसार नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यसहित अघि बढाइएको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक करिब ३८.७४ गिगावाट–घण्टा (GWh) विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।
एनआईसी एशिया बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन सुनिश्चित भएको यस आयोजनाले देशमा स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न, ऊर्जा सुरक्षामा योगदान पुर्याउन तथा आर्थिक विकास र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
बैंकले पछिल्लो समय आफ्नो लगानी पोर्टफोलियोलाई विविधिकरण गर्ने रणनीतिअन्तर्गत जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउँदै आएको जनाएको छ ।








