काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कन समयमै नबुझाएको कारणले शून्य अङ्क दिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खड्काले यस्ताे बताएका हुन् ।
उनले कार्यकारी निर्देशक कानून भन्दा माथि नभएको बताएका छन् । कार्यसम्पादन सम्झौताअनुसार भदौमै घिसिङले मूल्यांकनको अनुरोध गर्नु पर्ने थियो तर उनले नगरेकाले मूल्यांकन सम्भव नभएको खड्काको भनाइ छ ।
‘भदौमा उहाँले अनुरोध गर्नुभएन, त्यसैले मूल्यांकन नै भएन । असोजमा उहाँलाई लिखित रूपमा स्मरण गराइयो, तर त्यसलाई बेवास्ता गरियो । पुसमा आएर उहाँले आफैंले ९८.९९ प्रतिशत मूल्यांकन आएको छ भनेर मन्त्रालयलाई जानकारी गराउनुभयो,’ उनले भने, ‘संविधान र कानुनअनुसार सबै नागरिकले निर्धारित प्रक्रिया पूरा गर्नुपर्छ । कार्यसम्पादन मूल्यांकनमा अनुपस्थित रहेकाले घिसिङलाई शून्य नम्बर दिइयो ।’
यसैगरी, मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ बक्यौतालाई नाफा देखाएर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारलाई राजस्व तिरेको बताएका छन् । उनले आम्दानी निश्चित भइसकेको नाफा मान्न मिल्ने वा नमिल्नेबारे स्पष्ट पार्नुपर्ने बताए ।