नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरूलाई सडक बत्तीको बक्यौता भुक्तानीका लागि आह्वान गरेको छ । प्राधिकरणले आज (चैत २३ गते) सूचना जारी गर्दै स्थानीय तहलाई सडक बत्ती प्रयाेग गरेवापतको बक्यौता नबुझाए लाइन काटिने चेतावनी दिएको हो ।
प्राधिकरणले स्थानीय तहलाई पटक पटक भुक्तानीका लागि आग्रह गरेपनि सो अनुसार काम नभएको भन्दै त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काटिन सक्ने चेतावनी दिएको छ ।
प्राधिकरणले चैत १६ गते पनि सूचना जारी गरी देशभरका स्थानीयले तहले सडक बत्ती प्रयोग गरेवापतको भुक्तानी नगरेको भन्दै महसुल तिर्न आह्वान गरेको थियो । सो आधारमा केही स्थानीय तहले बक्यौता महसुल बुझाएका थिए भने केहीले भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जनाएको छ ।
अधिकांश स्थानीय तहले बक्यौता नबुझाएपछि वा भुक्तानी प्रक्रिया अघि नबढाएपछि प्राधिकरणले फेरि सुचना जारी गर्दै चेतावनी दिएको छ ।
प्राधिकरणले रीतपूर्वक सडक बत्ती ग्राहक बन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र बिना मिटर प्राधिकरणको स्वीकृति नलिई अनाधिकृत रुपमा सडक बत्तीको प्रयोग गर्ने स्थानीय तह र कार्यालयको विद्युत् लाइन काट्ने चेवातनी दिएको छ ।
सडक बत्ती प्रयोग गरेवापत करिब ६ अर्ब रुपैयाँ भन्दा बढी बक्यौता असुल गर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले बक्यौता महसुल समर्थन गरी आवश्यक भएका किस्ताबन्दीमा तिर्न सक्ने सुविधा समेत उपलब्ध गराएको छ ।