Thursday, February 19, 2026
spot_img

१२ अर्ब ९३ करोड लागतमा मध्य–कालीगण्डकीकाे निर्माण सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । हाइड्रो सपोर्ट कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६.३ मेगावाट क्षमताको मध्य–कालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ । आयोजनाको सिभिल ठेकेदार कम्पनी रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा विस्फोटक पदार्थ प्रयोग गरेर गत हप्तादेखि ४ हजार ३ सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताए ।

अडिट सुरुङको लम्बाई ४ सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटतर्फबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको उनले बताए । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाई पानी ल्याउने र त्यसलाई १५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्‌गृहमा  खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 

नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको यस आयोजनाको विद्युत्‌गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोबोटिक सटकिटलगायत उपकरण ल्याएको बताए । 

मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि ७ किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा आवद्ध हुनेछ । आगामी ३ वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सञ्चालक ढकालले बताए । 

कुल १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको आयोजनामा नबिल बैंकको नेतृत्वमा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत ऋण लगानी गर्ने भएका छन् । त्यस्तै, प्रर्वद्धक र साधारण शेयर लगानीकर्ताबाट २५ प्रतिशत स्वपुँजी जुटाइने भएको छ ।

नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको छ । आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रुपैयाँ र बर्खामा २ सय ७७ गिगावाटबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

मध्य कालीगण्डकीसहित कालीगण्डकी नदीमा ३०० मेगावाटभन्दा बढी क्षमताका ३ वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, १८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img