Wednesday, May 20, 2026
spot_img

कोहलपुर-सुर्खेत १३२ केभी प्रशारण लाइन दुई महिनाभित्र सम्पन्न हुने

spot_img

Share

spot_img

काठमाडाैँ । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणकाे काम २ महिनाभित्र सम्पन्न हुने भएकाे छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन लाइनको बाँकी रहेका कामहरू छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले जनस्तरमा देखिएका समस्या समाधान भइसकेकाले अब निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

उनले आउँदो तिहारसम्म प्रसारण लाइनको फिल्डको काम सकेर सबस्टेशनमा विद्युत् जोड्ने गरी काम सम्पन्न गर्न आयोजना कार्यालयलाई निर्देशन दिए ।

मुख्यमन्त्री कँडेलले सुर्खेत र कोहलपुरस्थित १३२ केभी प्रशारणलाइनको सबस्टेशन, गाभर निर्माणाधिन टावर अवलोकन गर्नुका साथै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा प्रशारणलाइनका कर्मचारीसँग बाँकी कामहरूको बारेमा छलफल गरेका थिए । चिसापानी गाभरमा सरोकारवालासँगको छलफलमा संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही पनि सहभागी थिए ।

मुख्यमन्त्री कँडेलले संस्थागत क्षमता बढाएर कामलाई छिटो छरितो सम्पन्न गर्न तर्फ ध्यान दिन आग्रह गरे । ‘अहिलेसम्म विभिन्न कानुनी र स्थानीयसंगको विवादलाई देखाएर ढिलाइ भयो, अब ती समस्याहरु समाधान भइसकेका छन्’, उनले भने, ‘मौसम प्रतिकुलतालाई देखाएर अब धेरै समय ढिला गर्ने छुट छैन्, जतिसक्दो छिटो प्रशारणलाइनको काम सम्पन्न गर्नुस, प्रदेश र संघीय सरकारबाट कुनै निर्णय, समन्वय एवं सहकार्य गर्नुपर्ने भए जानकारी गराउनुस् ।’

उनले निकुञ्जका कर्मचारीलाई कर्णालीबासीको दिनचर्यासंग जोडिएको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा देखिएको अवरोधलाई स्थानीयस्तरबाटै समाधान गर्न पहलकदमी लिन जोड दिए । संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले अधिकतम प्राथमिकतामा राखेर काम अघि बढाइएपनि केही ढिला हुन पुगेको बताए ।

‘मन्त्रालयको तर्फबाट गर्नुपर्ने कामहरु हामी गर्छौं, गरिरहेका पनि छौं बाँकी केही समस्या देखिएमा लेखेर पठाउनुस्, मन्त्रालयस्तर र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने भए गर्छौं’ उनले भने ।

मुख्यमन्त्री र वनमन्त्रीसंगको छलफलमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अशोक रामले काटिएका काठहरु ल्याउन बाँकी रहेकाले अब रुख कटान र ढुवानीमा ढिलाइ नगर्ने प्रतिवद्धता जनाए ।

आयोजना प्रमुख रवि चौधरीका अनुसार १६२ वटा टावरमध्ये तीन वटामात्र निर्माण बाँकी रहेको र १० किमी लाइन तान्न बाँकी रहेको जानकारी दिए । बाँके बानियाँभारमा खेतको पानीले गर्दा टावरको जग खन्न ढिलाइ भएको र पानी कम हुन बित्तिकै यसलाई पुरा गरिने उनको भनाई छ ।

यसअघि बाँकेको बानियाँभार, गाभर र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवाद थियो । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको हकमा मुआब्जा नीतिमा फेरबदल गरेपछि यो विवाद हल भएको हो ।

साथै आयोजनाले भौगोलिक जटिलताले रुख काट्न र ढुवानी गर्न समस्या हुने केही स्थानमा ड्रोनको सहायताबाट लाइन जोड्ने तयारी गरेको छ । बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगर ११, स्थित सुब्बाकुना सबस्टेसन पुगेर टुंगिने प्रशारण लाइनको दूरी ५२ किलोमिटर छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img