काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा पनि नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताएका छन्।
बिहीवार एक कार्यक्रममा उनले विद्युत प्राधिकरणको शेयरलाई बजारमा लैजान नसकेको बताए। उनले प्राधिकरणसँग लगानीयोग्य परियोजना पर्याप्त मात्रामा हुँदाहुँदै पनि रकम अभावको कारणले अगाडी बढाउन नसकेको बताए।
प्राधिकरणको २० प्रतिशत शेयर बजारमा निष्कासन गरेर पैसा उठाउनसके ऊर्जा क्षेत्रमा लगानी गर्न सकिने उनको भनाई छ।
उनका अनुसार प्राधिकरणसँग लगानी गर्नको लागि बुढीगण्डकी, अपर अरुण, दुधकोशी लगायत करिव ३ हजार मेगावाट क्षमताका ठूला जलविद्युत आयोजना अध्ययन सम्पन्न भएर निर्माणका लागि तयार अवस्थामा छन्। तर विद्युत प्राधिकरणसँग ती आयोजना अघि बढाउन आवश्यक लगानी रकम नभएको उनले बताए।
प्राधिकरणको २० प्रतिशत शेयरलाई निष्कासन गर्न विगत ४ वर्षदेखि खोजिए पनि कानूनी अड्चनका कारण नसकिएको उनकाे भनाइ छ। प्राधिकरणको शेयर बजारमा निष्कासन गर्नसके कम्तीमा २ खर्ब रुपैयाँभन्दा बढी रकम उठाउन सकिने उनले बताए।








