काठमाडाैँ । भारतले नेपाललाई प्रतिस्पर्धी दरमा विद्युत आयात गर्न दिएको ६५४ मेगावाटको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को डे–अहेड र रियल–टाइम मार्केटमार्फत चौबिसै घण्टा विद्युत आयातको व्यवस्था निरन्तर गर्ने निर्णय लिएको हो ।
यसअघि प्राप्त अनुमति बुधबार सकिँदै छ, तर नवीकरणसँगै नेपालले विद्युत किन्ने सुविधा कायम रहने भएको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर लाइनबाट थप ५४ मेगावाट गरी कूल ६५४ मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ । प्राधिकरणका अनुसार १७ पुसदेखि १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्मका लागि अनुमति प्राप्त भएको छ । त्यसमाथि, १८ चैतदेखि १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) को अवधिका लागि भने पछि छुट्टै प्रक्रियामार्फत नवीकरण गरिने जनाइएको छ ।
अनुमति नवीकरणको संवेदनशील चरणमै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले भारतीय अधिकारीसँग टेलिफोन संवाद गरेका थिए । उनले आरटिसी (राउण्ड–द–क्लक) मोडमा विद्युत आयात निरन्तर राख्न सकिने गरी अनुमति नवीकरणका विषयमा पहल गरेका थिए ।
प्राधिकरणका अधिकारीहरूका अनुसार प्रतिस्पर्धी बजारबाट विद्युत आयात गर्न पाउने व्यवस्थाले आवश्यकतानुसार तत्काल ऊर्जा व्यवस्थापन गर्ने लचिलो विकल्प दिन्छ । डे–अहेड र रियल–टाइम मार्केट दुवै खुल्ला रहँदा माग–आपूर्ति अनुसार मूल्य छनोट गर्न सजिलो हुने, लोड व्यवस्थापन सहज हुने र प्रणालीको विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ ।








