काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा निर्माण हुन लागेको ८७ मेगावाट क्षमताको सेती नदी–३ आंशिक जलाशययुक्त जलविद्युत् आयोजना वित्तीय व्यवस्थापनको तयारीमा पुगेको छ । चिलिमे जलविद्युत कम्पनीले निर्माण अघि बढाएकाे आयोजनामा लगानी जुटाउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग छलफल भइरहेको छ ।
कम्पनीका अनुसार नेपाल हाइड्रो इलेक्ट्रिसिटीबाट वित्तीय व्यवस्थापनका लागि इच्छुक देखिएको छ भने अन्य वित्तीय संस्थाहरूसँग सहवित्तीयकरणको ढाँचामा समन्वय गरी आवश्यक स्रोत जुटाउने प्रयास भइरहेको छ । वित्तीय व्यवस्थापन टुंगो लाग्ने चरणमा रहेकाले छिट्टै फाइनान्सियल क्लोजर हुने अपेक्षा गरिएको छ ।
करिब १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट वार्षिक औसत ४८ करोड २५ लाख युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनास्थलसम्म पहुँचमार्ग पूर्वतयारी अवस्थामा रहेकाले वित्तीय व्यवस्थापन सम्पन्न हुनासाथ निर्माण कार्य अघि बढाइने कम्पनीले जनाएको छ ।
उत्पादित विद्युत् १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत बझाङको कैलाश सबस्टेशनमा जोडिनेछ । उक्त प्रसारण लाइन निर्माणका लागि अन्य कम्पनीहरूसँग सहकार्यको प्रक्रिया पनि अघि बढाइएको छ ।
वित्तीय व्यवस्थापनको अन्तिम चरणमा पुगेको यो आयोजना सुदूरपश्चिममा ऊर्जा पूर्वाधार विस्तारका लागि महत्वपूर्ण मानिएको छ ।








