Monday, June 29, 2026
spot_img

प्राधिकरणद्वारा ‘लाइभ लाइन मेन्टिनेन्स’ सेवा सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध नगरी चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यको नेपालमै पहिलोपटक सुरुवात गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयमार्फत अत्याधुनिक उपकरणको प्रयोग गर्दै ‘लाइभ लाइन मेन्टिनेन्स’ प्रविधिको औपचारिक थालनी गरेको हो ।

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको उपस्थितिमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित ११ केभी वितरण लाइनमा मर्मत गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले उपभोक्तालाई विद्युत् आपूर्ति अवरुद्ध नगरी गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले यो प्रविधि नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको बताए ।

‘उपभोक्तालाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यले चालु अवस्थाकै विद्युत् लाइनमा अत्याधुनिक उपकरण प्रयोग गरी मर्मत–सम्भार कार्य सुरु गरेका हौँ,’ यादवले भने । उनका अनुसार प्रारम्भमा नमुना परियोजनाका रूपमा सुरु गरिएको यो कार्य आगामी दिनमा आवश्यकता र प्रभावकारिताका आधारमा विस्तार गरिनेछ ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाले हाल नमुनाका रूपमा सुरु गरिएको यो प्रविधिलाई विशेषगरी सहरी क्षेत्रमा नियमित मर्मत–सम्भारका क्रममा प्रयोग गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठ, उपकार्यकारी निर्देशक ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव, बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडेलगायत विभिन्न वितरण केन्द्र र आयोजना प्रमुखहरूको उपस्थिति रहेको थियो । तालिम प्राप्त प्राविधिक टोलीले अत्याधुनिक उपकरणको प्रयोग गरी चालु लाइनमै सुरक्षित रूपमा मर्मत कार्य सम्पन्न गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार भविष्यमा यो प्रविधिको व्यापक प्रयोग गर्न सकिए नियमित मर्मतका लागि अनिवार्य रूपमा गर्नुपर्ने लाइन कटौती उल्लेखनीय रूपमा घट्नेछ । यसबाट उपभोक्ताले बिना अवरोध थप भरपर्दो, गुणस्तरीय र निरन्तर विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img